काठमाडौं, जेठ ५ : स्वास्थ्य क्षेत्रका वैश्विक नेताहरुले कोभिड–१९ महामारी सम्बन्धमा अन्तर्राष्ट्रिय जवाफदेहिताको पुनरावलोकन गर्ने भएका छन् । संयुक्त राष्ट्र संघको स्वास्थ्य सम्बन्धी निकाय विश्व स्वास्थ्य संगठनको ७३ औं महासभामा भाग लिने १९४ राष्ट्रका प्रतिनिधिहरु सोमबार र मंगलबार गरी दुई दिनसम्म महामारीको जवाफदेहितामाथि पुनरावलोकन गर्ने भएका हुन् ।
संयुक्त राज्य अमेरिका र चीनले कोरोना भाइरसको उत्पत्तिलाई लिएर एक अर्कामाथि दोर्षापणसँगै आलोचना गरिरहँदा राष्ट्र संघको स्वास्थ्य निकायको महासभा हुन लागेको हो । महासभामा कोरोनाभाइरस महामारीलाई प्राथमिकतामा राखेर छलफल हुनेछ । विश्व स्वास्थ्य संगठन र यसका सदस्यले भाइरसको सङ्क्रमण फैल्न नदिन सदस्य राष्ट्रको भूमिकामाथि बहस गर्नेछन् । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरि तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ४५ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित छन् ।
प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनले आवधिक कामको समीक्षा गर्दै आएको छ । आगामी वर्षका लागि उक्त महासभाले प्राथमिकता निर्धारण गर्छ । महासभामा यूरोपेली संघले वैश्विक महामारीको रुप लिएको कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रणमा लिन अपनाइएको विधि र स्वास्थ्य संगठनको भूमिकाबारे छानबीनको माग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
“महामारी कसरी फैलियो, संक्रामक तत्व के हो ?”– लगायतका प्रश्नको जवाब महासभामा खोजिने यूरोपेली संघकी अध्यक्ष भर्जिनि बट्टु हेनरिक्सनले प्रष्ट्याउनुभयो । महामारीमा संगठनको भूमिका र उसले चालेको कदमबारे जवाब दिन विश्व स्वास्थ्य संगठनमाथि दबाब हुनेछ ।
विश्व स्वास्थ्य संगठनले प्रत्येक सदस्य राष्ट्रको बराबरी प्रतिनिधित्व गर्नुपर्छ । तर महामारीको बेला संयुक्त राज्य अमेरिका र चीनको राजनीतिक युद्धस्थलको केन्द्र स्वास्थ्य संगठन बनेको छ । स्वास्थ्य संगठन संयुक्त राष्ट्र संघको सल्लाहकार निकाय रहेकोले कुनै पनि राष्ट्रलाई सूचना दिन बाध्य पार्न सक्ने सामथ्र्य राख्दैन् ।