सुत्केरीको मृत्युबारे मन्त्रालयले थाल्यो अध्ययन, मृतकको परिवारको स्वाब संकलन

  जेठ ०३, २०७७

काठमाडौं, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए नभएको अध्ययन गर्ने भएको छ । २९ वर्षीया सुत्करीको अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो ।

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको अनलाइन खबरले जनाएको छ ।

यसैबीच, मृतक महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ ।सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलाको बिहीबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको स्रोतले जनाएको छ । पुनः परीक्षणको लागि टुक स्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ ।

‘हामीले शव लैजान खोजेका थियौं । कोरोना हो की भनेर परीक्षण गर्ने भनेर लान दिएन,’ मृतकका आफन्तले भने, ‘आज बिहान रिपोर्ट आएपछि हामी यहाँका डाक्टरले कसैलाई नुछुनु भनेर छुट्टै कोठामा राखेको छ ।’

अस्पतालले शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब निकालिसकेको छ । ‘हाम्रो स्वाब दिउँसै निकालेर परीक्षण गर्न लगिसक्यो,’ आफन्तले भने, ‘बच्चाको पनि परीक्षण गर्न लागेको छ ।’

ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन् । सुत्केरीको अवस्था सामान्य भएपछि २५ गते उनीहरु बाह्रबिसे गएको इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया