लुकिछिपी रोक्न मुख्य नाकाबाटै नेपाली भित्र्याइँदै

  जेठ ०२, २०७७

भैरहवा, जेठ २ : भारतबाट लुकिछिपी नेपाल छिरेकाबाट कोरोना सङ्क्रमण फैलिन थालेपछि सीमा नाकामा आइपुुगेका नेपालीलाई वैधानिक बाटोबाटै नेपाल ल्याउन सुरु गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय र स्थानीय पालिकासँग समन्वय गरी बुधबारदेखि बेलहिया नाकाबाट नेपाली ल्याउन थालिएको हो ।


सुनौली नाकामा बुधबार साँझ ७ बजेदेखि नेपाल भित्रिने तयारीका साथ नेपाली सीमा नाकामा लामबद्ध छन् । उनीहरूलाई लिन स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारी नाकामै पुगेका छन् । आठवटा बस उनीहरूलाई ल्याउन लामबद्ध छन् । रुपन्देहीका सङ्क्रमितमध्ये अधिकांश लुकिछिपी नेपाल छिरेको पाइएपछि यसलाई रोक्न वैधानिक बाटो अपनाइएको हो । कपिलवस्तुका खुला नाकाबाट पनि यसरी भित्रिने समस्या उस्तै छ ।

बुधबार साँझ मात्रै ५१० नेपाली ल्याइयो । उनीहरू भारतको नौतनवामा २१ दिन क्वारेन्टाइन अवधि पूरा गरेर बसेका थिए । यी मध्ये २७७ जनालाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइन स्थल लीलाराम न्यौपाने माविमा राखिएको छ । बाँकी २३३ जनालाई तिलोत्तमा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइन स्थल मधवलिया मावि र शङ्करनगर दुर्गादत्त माविमा राखिएको छ ।

भारतीय क्वारेन्टाइनमा १४ दिन पूरा गर्नेको सङ्ख्या भने ९७६ छ । यी सबैलाई स्थानीय तह सँगको समन्यमा भित्र्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो । उहाँले उनीहरूलाई नाकामै रोक्दा चोर बाटोबाट रातिमा आउने क्रम रोकिएन, यसबाट सङ्क्रमण झन् फैलिने भयो, त्यसैले यसलाई रोक्न सुरक्षा समितिको निर्णय अनुसार क्रमशः उनीहरूलाई नेपाल ल्याउन थालेका हौँ भन्नुभयो ।

सीमा नाकामा नेपालीलाई लिन पुग्नुभएका तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नेपाल ल्याइएकालाई यथाशीघ्र पीसीआर परीक्षण गरेर सम्बन्धित जिल्ला पठाइने बताउनुभयो । नाकामा लामो समय अलपत्र परेका नेपाली स्वदेश फर्कन पाएकोमा खुसी देखिन्छन् । उनीहरू ‘नेपाल आमाकी जय’ नारा लगाउँदै स्वदेश छिरिरहेका छन् । क्वारेन्टाइन बसाइ पूरा गर्दा पनि स्वदेश आउन नपाएपछि नेपालीले दशगजा क्षेत्रमै भोक हडताल थालेका थिए । प्रमुख जिल्ला अधिकारी पन्थले यो काम स्थानीय तहले पहल गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा भएको हो भन्नुभयो ।

बुधबार साँझ स्वदेश भित्रिएका उनीहरू रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायत जिल्लाका छन् । भारतमा रेल सेवा सुरु भएपछि स्वदेश फर्कने नेपालीको सङ्ख्या सीमा नाकामा बढ्न थालेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताउनुभयो ।
सीमावर्ती भारतीय सहर नौतनवास्थित विभिन्न नौवटा क्वारेन्टाइनमा ११ सय नेपाली राखिएको छ ।

क्वारेन्टाइन अवधि पूरा गरेकालाई निकालेर दशगजामा पु-याइएको छ । घर फर्कन हिँडेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश भिœयाउन सरकारले छिट्टै पहल नथालेमा भारतमा उनीहरूको व्यवस्थापन गर्न समस्या पर्ने र उनीहरू सीमामा आइपुगेमा सुरक्षाकर्मीलाई रोक्न समस्या पर्नसक्ने दुवै देशका सुरक्षा अधिकारी बताउँछन् ।

सीमामा अलपत्र परेका व्यक्तिलाई सुरक्षित तरिकाले नेपाल ल्याएर सम्बन्धित स्थानीय तहले जिम्मा लिने हो भने सङ्क्रमण फैलिन कम हुने सुरक्षा अधिकारीको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्ण रूपमा बन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको हो । आवागमन बन्द गरिने स्थानीय तहमा सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिका छन् ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यो भनेको निषेधाज्ञा नै हो, ती पालिकाका बासिन्दा जेठ ५ गतेसम्म घरबाट बाहिर निस्किन पाउँदैनन् भन्नुभयो । निषेधित क्षेत्र घोषणापछि सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब सङ्कलन सहज भएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले निषेधित क्षेत्र घोषणापछि सङ्क्रमित पत्ता लगाउन सहज भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया