काठमाडौँ, वैशाख ३१ : भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर मण्डला क्षेत्रमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि नेपाल प्रहरीले ‘इलेक्ट्रिक सकर’ प्रयोग गरेको छ । सोमबार प्रदर्शनमा भाग लिएका विद्यार्थीले प्रहरीले आफूलाई विद्युतीय झट्का दिइएको बताएका छन् ।
प्रहरीले उक्त विद्युतीय झट्का दिने ‘इलेक्ट्रिक सकर’ एक दशक अघि दंगा नियन्त्रणको लागि प्रयोग गरेको थियो । २०६२–२०६३ को जनआन्दोलनमा सुरक्षाकर्मीले दंगा नियन्त्रणका लागि प्रयोग गरेको उक्त साधन प्रहरीले फेरि प्रयोग गरेको फेला परेको हो ।
दंगा हुँदा, कसैलाई नियन्त्रणमा लिनु पर्दा वा दंगा गर्नेलाई भगाउनु पर्दा उक्त इलेक्ट्रिक सकरको प्रयोग गरिने प्रहरीले जनाएको छ । तर, माइतीघरमा कुनै दंगा भएको थिएन । तैपनि, प्रहरीले सीमा सुरक्षाको मागमा आन्दोलन गर्नेलाई मा भेला भएका विद्यार्थीमाथि प्रहरीले यसको प्रयोग गरेको भेटियो ।
कीर्तिपुरमा अध्ययनरत बाराका रामनरेश यादवले सोमबार माइतीघरमा प्रहरीले नियन्त्रण लिने क्रममा विद्युतीय झट्का दिएको बताए । ‘प्रहरीले आफ्नो हातमा रहेको कालो रंगको एक बित्ता लामो डिभाइसले लुकाएर हात र खुट्टामा झट्का थिए,’ उनले भने, ‘मलाई सडकबाट नियन्त्रणमा लिएर गाडीमा हाल्ने क्रममा झड्का दिएका थिए । पहिलो झड्कामा म सडकमै लडेको थिएँ । त्यसपछिको झट्काले मलाई तीन–चार घन्टासम्म नै धेरै दुख्यो । अहिलेसम्म पनि दुखिरहेको छ ।’
उनले अतिक्रमित नेपाली भूमिबारे कुटनीतिक र उच्च राजनीतिक तहबाट भारतसित वार्ता गरेर समस्याको समाधान होस् भनेर सरकारलाई सहयोग गर्न माइतीघर गएर शान्तिपूर्ण आन्दोलन गर्दासमेत प्रहरीले दुर्व्यवहार गरेकोमा दुःख व्यक्त गरे ।
यादवजस्तै विद्युतीय झट्का पाउने अर्का विद्यार्थी हुन्, चावहिलका उपेन्द्र श्रेष्ठ । कीर्तिपुरमै राजनीतिशास्त्र पढिरहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा उत्रदा माइतीघरमा प्रहरीले आफूलाई विद्युतीय झट्का दिएको बताए । ‘डिभाइस सानो हुँदो रहेछ । हातमा लुकाएर झट्का दिए,’ उनले भने ।
पूर्वमहान्यायधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ प्रहरीले विद्युतीय झट्का दिनुलाई मान्छेको मौलिक अधिकार र मानव अधिकारविरुद्धको कार्य भएको बताउँछन् । उनले भने, ‘यसरी करेन्ट लगाउनु मान्छेको मौलिक अधिकार र मानव अधिकारविरुद्ध छ ।’ श्रेष्ठले फौजदारी मुद्दा लागेका अपराधीहरुलाई समेत विद्युतीय झट्का दिन नपाइने व्यवस्था रहेको बताए । ‘यो पूर्णरुपमा मानवअधिकारको विरुद्धमा छ,’ उनले थपे ।
प्रहरीका प्रवक्ता निरजबहादुर शाही भने फिल्डमा खटिएका अधिकृतलाई यस बारेमा थाहा हुने बताउँछन् । ‘विद्युतीय झट्का दिने सेट प्रयोग भएको वा नभएको बारे फिल्डका अधिकृतसँग बुझ्नु पर्छ । त्यो सेट त धेरै पुरानो हो । पहिले–पहिले दंगालाई नियन्त्रण गर्न त्यस्तो ‘इलेक्ट्रिक सक’ प्रयोग गरिन्थ्यो । त्यो ‘नन् लिथल’ हतियार हो । त्यो दंगा नियन्त्रणकै एउटा साधन हो । अहिले प्रयोग गरेको हो वा होइन भन्ने मलाई थाहा भएन,’ शाहीले भने ।
उनले पहिलेका ती सेट धेरै पुरानो भइसकेको र केही बिग्रिसकेको पनि हुन सक्ने बताए । ‘मान्छेलाई नियन्त्रणमा लिन सकिने तर त्यसले मान्छेलाई कुनै क्षति नहुने भएकोले प्रयोग गरिन्छ,’ उनले भने, ‘विशेषगरी दंगा प्रहरीले यो सेट बोक्ने गर्छन् । भिडभाडमा धकेल्दा चिरिक्क झट्का लाग्ने भएकाले मान्छेले त्यो ठाउँ छाडेर हिँड्छन् भन्ने हो । पहिला त्यो दंगा नियन्त्रण सेटमै आउँथ्यो ।’
चिकित्सक कमल लम्साल प्रहरीले ‘इलेक्ट्रिक सक’ दिनु गलत भएको मान्छन् । ‘करेन्ट पनि भोल्टेज अनुसार हुन्छ । केहीगरि तलमाथि भयो भने करेन्टले गर्दा मान्छेको ज्यान पनि जान सक्छ, यसरी कुनै पनि रुपमा मान्छेको शरिरमाथि करेन्ट प्रयोग गर्नु गलत हो,’ चिकित्सक लम्साललाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।





