पूर्वमन्त्री रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण

  बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रावलका स्वकीय सचिव गोविन्द दुलालका अनुसार ती सुरक्षाकर्मी एक महिना पहिले बिदामा गएका थिए । श्रीमती बिरामी भएपछि बिदामा गएका उनी १ महिनापछि फेरि काममा फर्किन लागेका थिए । सशस्त्र प्रहरीको सुरक्षा गणबाट फेरि रावलको सुरक्षामा खटिन लागेका उनलाई कोरोना परीक्षण गरेपछि मात्रै आउन भनिएको थियो ।

‘रावल सरले फेरि आउन खोजेपछि कोरोना लागेको छैन भनेर पुष्टि भएपछि मात्रै आउन भन्नुभएको थियो । त्यसपछि सशस्त्र प्रहरीको अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो,’ दुलालले भने । उनी रावलको सुरक्षार्थ पछुवा गाडीमा खटिएका थिए । उनी भक्तपुर दुवाकोटका स्थानीय बासिन्दा भएको खुलेको छ । सशस्त्र प्रहरीले नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको टिमसँग समन्यवय गरेर संक्रमित ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।

ती सुरक्षाकर्मीमा कोरोनाको कुनै पनि लक्षण नभएको बताइएको छ । प्रहरीले अहिले दुवाकोटलाई सिल गरेको छ । मंगलबार संक्रमण पुष्टि भएकामध्ये भक्तपुरमा ती सुरक्षाकर्मी र एक जना नर्समा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया