विश्वभरि दुई लाख ९१ हजार बढीको मृत्यु, रुस दोस्रो सबैभन्दा बढी संक्रमित देश

  बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : अमेरिकापछि रुस कोभिड–१९ को संक्रमणबाट दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । रुसमा बुधबार बिहानसम्म दुई लाख ३२ हजार २४३ जना संक्रमितको पुष्टि भएको छ ।

अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बुधबारसम्म विश्वब्यापी संक्रमितको संख्या ४२ लाख ५९ हजार २५५ पुगेको छ । रुसमा पछिल्लो २४ घण्टामा दश हजार ८९९ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा सबैभन्दा बढी १३ लाख ६९ हजार ३८६ जना संक्रमित छन् । रुसमा भने पछिल्लो दश दिन यता लगातार दश हजार नयाँ संक्रमित दैनिक थपिदा बढी संक्रमित राष्ट्रको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।

स्पेनमा दुई लाख २८ हजार ३० जना संक्रमित छन् । बेलायतमा दुई लाख २७ हजार ७४१ र इटालीमा दुई लाख २१ हजार २१६ जनामा संक्रमणको पुष्टि भएको छ । रुसबाहेक बेलायत र इटालीमा मृतकको संख्या ३० हजारभन्दा बढी छन् ।

अमेरिकामा ८२ हजार ३३९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । फ्रान्स र स्पेनमा मृतकको संख्या २६ हजार नाघेको छ । यद्दपी यूरोपेली राष्ट्रहरुको अपेक्षा रुसमा संक्रमितको मृत्यु दर थोरै पाइएको छ । रुसमा बुधबारसम्म दुई हजार ११६ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमित्री पेश्कोभमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइल मिशुस्टिनपछि कोभिड–१९ बाट संक्रमित भएको उहाँ दोस्रो उच्च तप्काका व्यक्ति हुनुहुन्छ । मंगलबार मात्रै राष्ट्रपति पुटिनले लकडाउन खुकुलो बनाउन क्षेत्रलाई स्वतन्त्रता दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया