राष्ट्रपति, प्रधानमन्त्री र देउवाद्वारा नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना

  बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपतिले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिनुभएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा नर्सिङ दिवसको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीविरुद्धको युद्धमा अग्रिम मोर्चामा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्समा ‘विश्व नर्स दिवस’को शुभकामना व्यक्त गर्नुभएको छ । आज उहाँले ट्वीट गर्दै विश्व नर्सिङ दिवस तथा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

यसैगरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नर्सिङ सेवालाई अझ परिस्कृत गर्न थप लगानी आवश्यक रहेको बताउनुभएको छ । उहाँले विश्व स्वास्थ्यका लागि नर्सिङ सेवाको नेतृत्व आवश्यक भएको हुँदा राज्यको सबै तहबाट यस सेवालाई अझ परिस्कृत गर्न थप लगानी गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताउनुभयो ।

सन्देशमा उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को कारण विश्व नै आक्रान्त रहेको यस अवस्थामा स्वास्थ्य सेवाको अग्रपङ्क्तिमा रही सेवारत सम्पूर्ण नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभारसमेत व्यक्त गर्नुभएको छ । “नर्सहरूले गर्नुभएको अहोरात्र सेवाले धेरैजना बिरामी स्वास्थ्यलाभपश्चात् घर फर्किसक्नुभएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “आफू उच्च जोखिममा रहेर पनि आमनागरिकलाई यस रोगका साथै अन्य स्वास्थ्य समस्या आउन नदिन खट्नुभएका सम्पूर्ण नर्सप्रति थप उच्च मनोबलका साथ कार्य गर्न ऊर्जा मिलोस् भन्ने कामना गर्दछु ।”

उहाँले कोरोना भाइरस (कोभिड–१९)को उपचारमा संलग्न नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच, स्वास्थ्य बीमा, भत्तालगायत अन्य सुविधा नेपाल सरकारको व्यवस्था भन्दै भविष्यमा अझ उत्प्रेरणा बढाउन विभिन्न सुविधा थप गर्दै जाने बताउनुभयो । उहाँले यस विषम परिस्थितिमा थप हौसला र उच्च मनोबलका साथ बिरामीको सेवामा अहोरात्र खट्नुहुने सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत सम्पूर्ण नर्सप्रति आभार प्रकट गर्नुभएको छ ।

सभापति देउवाद्वारा विश्व नर्स दिवसको शुभकामना
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व नर्स दिवसको अवसरमा नर्सिङ पेशामा क्रियाशील सबैलाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्तिमार्फत मुलुक अहिले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न कठिन र संवेदनशील घडीमा स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो घरपरिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुमा उच्च सम्मान गर्नुभएको छ ।

कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर सङ्क्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिनुभएका नर्सहरुलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र उहाँहरुको मनोवल उच्च राख्न काँग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको सभापति देउवाले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया