काठमाडौं, वैशाख ३० : पछिल्लो पटक कोरोना भाइरस (कोभिड –१९)को परीक्षणमा काठमाडौंमा एक महिला सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको २१७ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा आज पुनः काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिएको पुष्टि गर्नुभयो । यसअघि आज नै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा देखिएको थियो ।
आज अपराह्न र अहिले राति मात्र गरी संक्रमित ८३ भेटिएका छन् । यो एक दिनमा नेपालमा भेटिएको सबभन्दा ठूलो संख्या हो । नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष छन् ।
यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जना रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । सोअनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्लाकी ३५ वर्षीया महिला छिन् ।
यसैगरी सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
नेपालमा पहिलो पटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ ।
त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।






