भारतले बाटो खन्दैछ भनेर मलाई कसैले रिपोर्टिङ गरेन : प्रधानमन्त्री

  बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी हुँदै भारतले चीन जोड्ने सडक बनाइरहेको बारे आफूलाई पूर्व जानकारी नभएको बताएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो बताएका हुन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन भएपछि मात्र बाटो खनिएको बारे आफूले थाहा पाएको बताएका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आइतबार प्रतिनिधिसभा बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेका बारे सरकारलाई पहिल्यैदेखि जानकारी रहेको दाबी गरेका थिए । ‘लिपुलेक र कालापानीमा भारतले सडक खन्दैछ भन्ने मलाई कुनै जानकारी थिएन । सीडीओले रिपोर्टिङ गरेका थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर, भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेका थिएनन्,’ ओलीको भनाइ थियो ।

उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्ने सरकारको प्रस्ट अडान रहको उल्लेख गर्दै त्यसैअनुरूप वार्ता गरी उक्त क्षेत्र फर्काउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सीमा विवाद टुंग्याउनका लागि सरकारले पटकपटक पहल गर्दै आए पनि भारतको नियत ठीक नभएकाले समस्या समाधान हुन नसकेको बताए ।

ओलीले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएका बारेमा ईपीजीका तत्कालीन भारतीय पक्षका सदस्य भगतसिंह कोसियारी (हाल महाराष्ट्रका गभर्नर) सित वार्ता गरेको तर सकारात्मक उत्तर नआएकोसमेत जानकारी गराए । ‘भारतका लागि नेपाली राजदूतले हिजो भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । कोसियारीले नमिल्ने कुराकानी गर्नु भएछ,’ प्रधानमन्त्रीको भनाइ थियो ।

मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि लिपुलेक र कालापानी हुँदै भारतले चीनको मानसरोवर जाने सडक बनाएको बारेमा ब्रिफिङ गरेका थिए । उनले भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर लिखित पत्र दिई नेपाली भूमि अतिक्रमणको विरोध प्रकट गरिसकिएको उल्लेख गर्दै समस्या समाधानका लागि भारतसित तत्काल वार्ता गर्ने प्रयास भइरहेको जानकारी गराएका थिए ।

ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले कूटनीतिक वार्ताबाहेक सीमा विवाद समाधान गर्ने अर्को विकल्प नरहेको उल्लेख गर्दै सबै मन्त्रीलाई त्यसबारेमा जथाभावी सार्वजनिक अभिव्यक्ति नदिन र जिम्मेवार बन्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको लिम्पियाधुरा कहिल्यै नेपाली भूमि थिएन भन्ने गलत अभिव्यक्तिप्रति संकेत गर्दै यथार्थ नबुझी सीमा विवादबारे जथाभावी नबोल्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले सीमामा भारतले बलमिच्याइँ गरिरहेको भए पनि त्यसको समाधान सडकमा उफ्रेर र चर्का कुरा गरेर नहुने पनि बताएको इकान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया