संक्रमितको उपचारमा आयुर्वेदिक औषधि पनि प्रयोग गरिने

  बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारमा उपलब्ध आधुनिक औषधिसँगै ‘आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली’ उपयोग गर्ने नीति अगाडि बढाएको छ ।

यसअन्तर्गत कोभिड–१९ विरुद्ध आधुनिक चिकित्सा पद्घतिको अचूक औषधि निर्माण नभएसम्म आयुर्वेद र वैकल्पिक चिकित्साअन्तर्गतका सयौं वर्षदेखि चलिआएका ‘टाइम टेस्टेड’ (समयले नै प्रमाणित गरेको) औषधिहरू उपयोग गर्ने रणनीति बनाएको हो ।

यसअघि नै सरकारले मुलुकभरको आयुर्वेदको स्वास्थ्य संस्था, प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कोभिड–१९ विरुद्ध आयुर्वेद र वैकल्पिक चिकित्साअन्तर्गतको रोकथामसँग सम्बन्धित निर्देशिकासमेत जारी गरिसकेको छ ।

यही निर्देशिकालाई टेकेर अहिले क्वारेन्टाइनमा बसेकाहरूलाई आयुर्वेदका विज्ञहरूले दिनहुँ योगा गराउनुका साथै बिहान गुडुची र त्रिकुटुको चिया (काढा) समेत दिन थालेका छन् । यसअन्तर्गत हालसम्म आधुनिक चिकित्सा पद्धतिअन्तर्गत विभिन्न लक्षणअनुसार दिइने औषधिहरूमा आयुर्वेदको औषधिसमेत उपयोग गर्न सकिन्छ ।

‘मुलुकको विभिन्न कोभिड अस्पतालहरूमा उपचाररतहरूमा आधुनिक औषधि सँगसँगै आयुर्वेदका ग्रन्थहरूमा वर्णित प्रामाणिक औषधिहरूसमेत सुरु गर्ने प्रक्रियामा छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले भने ।

यसअन्तर्गत रोग प्रतिरोधक क्षमता बढाउने, श्वास प्रणाली बलियो बनाउनेमात्र नभई कोभिडबाट देखिने घाँटीको खसखस र सुक्खा खोकीलगायतका लाक्षणिक चिकित्सामा उपयोगी हुने आयुर्वेदिक औषधिहरू आधुनिक चिकित्सा सँगसँगै उपयोग गर्ने नीति रहेको उनले बताए । हाल सरकारको प्राथमिकतामा अस्पतालमा भर्ना रहेका कोभिडका सामान्य बिरामीलाई ‘त्रिकुटु’ अर्थात् सुठो, मरीच, पिप्ला गरी तीन वटा औषधिमा गुडुची मिसाएर काढा (चिया) बनाएर दिनु रहेको छ ।

यस्तै अश्वगन्धा पाउडरलाई यस्टी मधुमा मिसाएर सेवन गर्न दिने र च्यवनप्रास नियमित उपयोग गर्न दिने आदि रहेको हो । हाल यो प्रस्ताव स्वास्थ्य अनुसन्धान परिषद्‍मा पुगेको छ भने परिषद्ले अनुमति दिनासाथ स्वास्थ्य मन्त्रालयले पारित गर्नेछ ।

हाल कोभिड संक्रमितहरूमा भारतमा समेत चिकित्सकहरूले अश्वगन्धा, गुडुची, यस्टी मधु, पिप्लीको उपयोग गरिरहेका छन् । भारतका केही प्रदेशमा कोभिड बिरामीलाई दिने गरिएको विशेष काढा गुडुची र त्रिकुटीको चिया (काढा) नै रहेको औंल्याउँदै डा. उपाध्याय भन्छन्, ‘यी जडीबुटी, काढा (चिया) हामी हजारौं वर्षदेखि उपयोग गरिरहेका हौं, यी सबै जडीबुटी ट्राइड (उपयोग गरिएको) र टेस्टेड (परीक्षण भएको) हुन् ।’

‘हामीले उपयोग गर्दै आएका आयुर्वेदिक औषधि र प्रक्रियाले रोग प्रतिरोधक क्षमतामा वृद्धि गर्छ,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले भने,‘कम्तीमा गुडुची, तुलसी, यस्टी मधु, बेसार र त्रिकुटु नियमित रूपमा सेवन गर्दा सम्भावित कोभिड–१९ संक्रमणविरुद्ध प्रतिरोधक शक्ति प्राप्त हुन्छ ।’

यति मात्र नभई यी आयुर्वेदका औषधिको नियमित सेवनले विभिन्न संक्रमणविरुद्ध निरन्तर शक्ति प्राप्त हुने हुँदा चिकित्सकीय सल्लाहमा उपयुक्त रूपले सधैंभरि सेवन गर्न सकिनेसमेत डा. यादव बताउँछन् । हाल सुदूरपश्चिममा कोभिड–१९ निको भएर घर फर्केका ५ जनाले निरन्तर गुडुची र अश्वगन्धालगायतका आयुर्वेदिक औषधि सेवन गरिरहेको औंल्याउँदै डा. उपाध्याय भन्छन्, ‘प्रस्तावित आयुर्वेदिक औषधि सेवन गरे भाइरसविरुद्ध लड्ने क्षमता वृद्धि भएर देखिन सक्ने सम्भावित जटिलता कम हुन सक्छ ।’

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड–१९ को संक्रमण निदानका लागि अध्ययन–अनुसन्धान गर्न भारत सरकारको आयुष (आयुर्वेद) मन्त्रालयसँग समेत समन्वय गर्ने भएको छ । चीनले पनि कोरोना संक्रमित बिरामीका लागि आयुर्वेदिक औषधि प्रयोग गरेको थियो ।

मुलुकको अनुसन्धान गर्ने निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), आयुर्वेद अनुसन्धान केन्द्र (कीर्तिपुर), औषधि व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लगायतका निकायसँग आयुर्वेद विभागले कोभिड–१९ विरुद्ध उपचारात्मक बचाउ अध्ययन अनुसन्धानमा समन्वय गरेर अघि बढ्ने निर्णयसमेत गरेको कान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया