सुनौली नाकामा अलपत्र नेपालीलाई स्वदेश भित्र्याउने तयारी

  बैशाख ३०, २०७७

तिलोत्तमा (रुपन्देही), वैशाख ३० : नेपाल–भारत मुख्य सीमा नाका सुनौंलीलगायत दशगजा क्षेत्रमा प्रवासी नेपालीको चाप बढेपछि रुपन्देही प्रशासनले क्वारेन्टाइनस्थल र पीसीआर परीक्षणको व्यवस्था गरेर भित्र्याउने तयारी गरेको छ । भारतले आजबाट प्रवासी कामदार लक्षित गरेर रेल सेवा सुरु गरे पनि सीमामा चाप बढने देखिएको छ ।

यस्तो अवस्थामा दशगजामा अलपत्र नेपालीको संंख्या बढने छ । त्यसले भद्रगोल अवस्था सृजना हुने भएपछि रुपन्देही प्रशासन र स्थानीय तहले व्यवस्थित रुपमा उनीहरुलाई ल्याउने विषयमा छलफल गरेका छन् । यसरी आउनेको स्वास्थ्य परीक्षणका लागि पर्याप्त पीसीआर किट उपलब्ध भएमा रुपन्देहीका विभिन्न पालिकाका क्वारेन्टाइनमा व्यवस्थापन गर्ने तयारी थालिएको छ ।

भारतीय कवारेन्टाइनमा २१ दिन बिताएका व्यक्तिलाई यहाँका क्वारेन्टाइनमा पीसीआर परिक्षणका लागि तयारी थाल्न स्थानीय तहलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘पीसीआर किट पर्याप्त नआएमा यहाँ ल्याएर राख्नुको अर्थ छैन,’ उनले भने, ‘भारतले रेल सेवा सुरु गरेपछि सीमामा कति नेपालीको थपिने हुन स्पष्ट भएको छैन । त्यसैले भारतमा क्वारेन्टाइनमा नबसेकालाई यहाँ ल्याएर जोखिम मोल्न नसकिने भएकाले विकल्पबारे छलफल गरिएको हो ।’ रुपन्देहीका प्रत्येक पालिकालाई एक हजार जनासम्म अंट्ने क्वारेन्टाइनस्थल व्यवस्था गर्न भनिएको पन्थले बताए ।

जिल्ला प्रशासनमा भएको छलफलपश्चात तत्काल २ सय जना राख्ने गरी क्वारेन्टाइन व्यवस्थापन गर्न तयारी थालिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । ‘नेपाली नै आउने भएकाले सहयोग गर्न अघि सऱ्यौं,’ उनले भने, ‘परीक्षणमा रिपोर्ट नेगेटिभ आएमा उनीहरु सम्बन्धित जिल्ला गइहाल्छन्, ६/७ दिनसम्म व्यवस्थापन गर्न तयार छौं ।’ तिलोत्तमा–१४ स्थित टिकुलीगढ माविमा भारतबाट नयाँ आउनेलाई राख्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

भारतीय क्वारेन्टाइनमा नबसेका नेपाली आए पनि नाकाबाट प्रवेश गराई यहांका कवारेन्टाइनमा राखेर परीक्षणपश्चात पठाउने निर्णय गर्न प्रमुख जिल्ला अधिकारीसँंग आग्रह गरेको ओमसतस्या गाउंँपालिकाका अध्यक्ष हिरा केवटले बताए । पहिलेकै कवारेन्टाइनसरह व्यवस्थित गर्न सकनिे अवस्था छैन, उनले भने, एकैपटक २ देखि ३ सय नागरिक आउँदा खाने, बस्नेको उचित प्रबन्ध मिलाउने कोसिस गर्नेछौं । रुपन्देही, कपिलवस्तु र नवलपरासीका मानिसलाई सम्बन्धित पालिकामै पठाउने र पहाडी जिल्लाका मानिसलाई यहीँ राखेर परीक्षण गरी पठाउने छलफल भएको
कान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया