कालापानीमा तत्काल उच्चस्तरीय अनुगमन गर्न प्रदेश सरकारको माग

  बैशाख २८, २०७७

गोदावरी, वैशाख २८ : सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमि मिचिनु असह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा नेपाली भूमिमा सडक बनाएको भन्ने आएकाले तत्काल उच्चस्तरबाट अनुगमन भ्रमण गरी वास्तविकता सार्वजनिक हुनुपर्ने बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद्ले यसअघि नै उक्त सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्न, नेपाली जनताले नेपालकै भूमि भएर जान मिल्ने गरी पैदल मार्ग निर्माण गर्न र कुटनीतिक पहलबाट समस्याको हल गर्न निर्णय गरी संघीय सरकारसँग अनुरोध गरेको बताउँदै अब विलम्ब नगरी तत्काल कार्यान्वयनमा जान अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री भट्टले नेपाली भूमि भएर नेपाली सीमासम्म आवतजावत गर्न पैदलमार्ग निर्माणमा प्रदेश सरकार पनि बजेटमा सहकार्य गर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेश दार्चुलाको लिपुलेक मिचिएको विषय उठाएर खवरदारी गर्ने सबैलाई धन्यवाद दिँदै मुख्यमन्त्री भट्टले राष्ट्रिय विषयमा संयमित भएर एकजुट हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया