भारतीय पक्षले बाँध अग्लो पारेपछि बन्जरहाका स्थानीय चिन्तित

  बैशाख २८, २०७७

गौर, वैशाख २८ : भारतीय पक्षले वाँध अग्लो गर्न थालेपछि रौतहटको ईशनाथ नगरपालिका वडा नं. १ बन्जरहाका स्थानीय वासिन्दाहरु चिन्तित भएका छन् ।

भारत सरकारले दशगज्जा क्षेत्रसँग टाँसेर बनाएको वाँधका कारण पानीको समुचित निकाश नहुँदा इशनाथ नपाको बन्जरहालगायत आसपासका गाउँहरु प्रभावित हँुदै आइरहेकोमा अहिले भारतीय पक्षले वाँधको उचाई वृद्धि गर्न लागेपछि स्थानीयवासी चिन्तित भएका हुन् ।

ईशनाथ नपा वडा नं. १ बन्जरहाका वडाध्यक्ष विगु साहले भारतिय बाँधका कारण वर्षेनि वाढी र वर्षाको पानीले उत्पन्न डुबानको समस्याबाट आक्रान्त हुँदै आएकोमा भारतीय पक्षले वाँध अग्लो गर्न लागेपछि थप समस्या उत्पन्न भएकोे बताउनुभयो । पिलर नं. ३४७ को पूर्व ,ममmौला पिलर ३४६ (५) हुँदै बन्जरहासम्म भारतले एक दशक अघि बनाएको वाँध अहिले अग्लो गरिरहेको उहाँले आरोप लगाउनुभयो ।

वि.सं २०६८ साल अघि बन्जरहा सहितका उक्त गाउँहरुमा वाढी र डुबानको समस्या नरहेको, तर जबदेखि भारत सरकारबाट वाँधको निर्माण गरियोे तर पानीको निकासको लागि साइफन नबनाउँदा वर्षा र वाढीको पानीबाट बन्जरहा गाउँ वर्षेनि प्रभावित हुँदै आएको स्थानीय सुरेश साहले बताउनुभयो ।

वाँध मर्मतको नाममा सहमति विपरित अटेर गरी वाँधमा काम गर्न लागेको जानकारी गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । उहाँँले अहिले वाँधको काम रोकिएको जानकारी समेत गराउनुभयो ।

तपाईको प्रतिक्रिया