भारतमा विषालु ग्यास चुहिँदा मृत्यु हुनेको संख्या ११ पुग्‍यो

  बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको औद्योगिक नगरी विशाखापटनमको छेउको एक रासायनिक कारखानाबाट विषालु ग्यास चुहिँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सयौं घाइते छन् । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये २५ जनाभन्दा बढीको अवस्था गम्भीर छ । विशाखापटनमबाट करिब १५ किलोमिटरको दूरीमा रहेको आरआरभी पुरम छेउका गोपालपटनम रहेको उक्त रासायनिक कारखानाबाट बिहान साढे तीन बजेदेखि विषालु ग्यास चुहिन थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विषालु ग्यास वरिपरिको हावामा फैलिन थालेपछि स्थानीयहरूमा आँखा पोल्ने र श्वास फेर्न मुस्किल भएको बताइएको छ । त्यसपछि गाउँलेहरूमा भागाभाग मच्चिएको थियो । श्वास फेर्न गाह्रो भएपछि कतिपय बेहो भएर लडेका थिए । पाँच हजारभन्दा बढी बिरामी परेको बताइएको छ । सबैभन्दा बढी असर बच्चा र वृद्धहरूमा परेको छ ।

लकडाउनका कारण गत ४० दिनदेखि बन्द रहेको कारखाना बिहीबारदेखि खोल्ने तय भएको थियो । त्यहीअनुसार १५ जना कामदारहरू बिहानैदेखि ग्यास भण्डार गरिएका ट्यांकीको जाँच गर्न थालेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यही बेला ग्यास चुहिन थाल्यो । ग्यास चुहिएर करिब साढे दुई किलोमिटरसम्मको वायुमण्डलमा फैलिएको थियो । त्यसपछि वरिपरिका बस्तीमा रहेका मानिसहरूमा श्वास फेर्न गाह्रो हुने र छाती पोल्नेलगायतका समस्या देखिन थाल्यो ।

ग्यास चुहिनुका कारण भने खुल्न सकेको छैन । ग्यास चुहिएको खबर सार्वजनिक हुनासाथ राष्ट्रिय आपत् मोचन बलको टोली घटनास्थल पुगेको थियो । र, टोलीले कारखानामा फसेकाहरूको उद्धार गर्नुका साथै थप ग्यास चुहिनबाट रोकेको थियो । घटनापछि कम्पनीले विज्ञप्ति जारी गर्दै कारखानाभित्र रहेका ट्यांकीमा १८ सय टनभन्दा बढी स्टिरिन ग्यास रहेको बताएको छ ।

यो कारखाना सन् १९६१ मा हिन्दुस्तान पोलिमरका रूपमा स्थापना भएको थियो । पछि त्यसलाई यूबी समूहको म्याकडबेल एवं कम्पनीमा गाभिएको थियो । यूबी समूहको स्वामित्व कुनै बेला भारतका चर्चित उद्यमी विजय माल्याको हातमा थियो । सन् १९९७ मा उक्त कारखानालाई दक्षिण कोरियाको एलजी केमिकल्सले किनेको थियो । त्यसपछि त्यसलाई एलजी पोलिमर्स भन्न थालिएको हो । कारखानाबाट प्लास्टिकजन्य कच्चापदार्थ उत्पादन हुँदै आएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगमोहन रेड्डीले मृतकका परिवारलाई एक करोडका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । साथै गम्भीर घाइतेलाई दस लाख र अन्यलाई नगद सहयोगको घोषणा गरिएको छ । यसैगरी सरकारले घटनाको छानबिनका लागि समिति पनि गठन गरेको छ । यसैबीच मानिसहरूको स्वास्थ्यसँग हेलचेक्र्याइँ गरेको भन्दै कम्पनीविरुद्ध एफआईआर दायर गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दु:ख प्रकट गरेका छन् । ‘गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूसँग छलफल गरेको छु । घटनालाई नजिक नियालिरहेको छु । साथै सबैको सुरक्षा र स्वास्थ्यको कामना गर्दछु,’ मोदीले ट्वीटमा लेखेको कान्तिपुरमा उल्लेख छ ।

पछिल्लो घटनाले ३६ वर्षअघि भोपालमा भएको त्रासदीपूर्ण घटनाको स्मरण गराएको छ । सन् १९८४ मा मध्यप्रदेशको भोपालस्थित युनियन कार्बाइड इन्डिया लिमिटेडको रासायनिक मल कारखानाबाट विषालु ग्यास चुहिँदा केही घण्टामै ३ हजारभन्दा बढीको ज्यान गएको थियो । तर, पीडितहरूले भने ८ हजारभन्दा बढीको मृत्यु भएको दाबी गरेका थिए ।

एक सरकारी अध्ययनले घटनामा पाँच लाखभन्दा बढी घाइते भएको जसमध्ये करिब चार सय जनामा अत्यधिक घाइते र दीर्घकालीन समस्या रहेको देखाएको थियो । घटनापछि भोपालको ८ लाख ५० हजार जनसंख्यामध्ये आधाभन्दा बढीमा खोकी, आँखा पोल्ने, श्वासप्रश्वास र छालाको समस्या देखिएको थियो । घटनालाई आजपर्यन्त इतिहासकै सबैभन्दा खराब औद्योगिक दुर्घटनाका रूपमा लिइन्छ ।

तपाईको प्रतिक्रिया