वीरगञ्जमा ७ सय ८१ जनाको स्वाब परीक्षण गरिँदै

  बैशाख २५, २०७७

वीरगञ्ज, वैशाख २५ : आईतबार कोराना संक्रमणको पुष्टि भएका युवकको परिवारमा अन्य १७ जनामा पनि बुधबार कोरोना संक्रमण भएको पुष्टिभएपछि स्थानीय प्रशासनले नयाँ भेटिएका १७ संक्रमितको सम्पर्कमा आएका ८१ जनाको पहिचान गरी स्वाब संकलनको कार्य सुरु गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बुधबार भेटिएका १७ जना संक्रमितको सम्पर्कमा आएका मध्ये सोही टोलमा बस्ने ८१ जनाको पहिचान भएको र उनीहरुको थ्रोट स्वाब संकलनको तयारी थालिएको बताउनुभयो ।

बुधबार भेटिएका नयाँ संक्रमितहरुको क्लोज कन्ट्याक्टमा आएकाहरूको परीक्षणपछि दोस्रो चरणमा संक्रमित क्षेत्रमा रहेका अन्य मानिसहरुको स्वाब परीक्षण गर्ने योजना रहेको बताउदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले भन्नुभयो ‘ साधनस्रोत अभाव रहेको छ , हालसम्म ८ सय भीटीएम सकिसकिएको छ, नारायणी अस्पतालमा जम्मा ४ सय भीटीएम मौज्दात रहेका छन् । यसअघि नै हिजो बुधबारसम्म वीरगञ्ज र आसपासका क्षेत्रमा करिब ८ सय जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गरि सकिएको छ । ’

प्रत्येक व्यक्तिको स्क्रिनिङ गर्दा समय र साधन धेरै लाग्ने हुनाले ‘पुल स्क्रिनिङ’ गर्नुपर्नेमा नारायणी अस्पतालका चिकित्सक निरज कुमार सिंह जोड दिनुहुन्छ । पछिल्लो समयमा सिल गरिएका तीन वटै वडा अति सम्बेदनशील क्षेत्र रहेकाले उक्त क्षेत्रमा परिवार स्क्रिनिङ वा इलाका स्क्रिनिङ तरिकाबाट परीक्षण अविलम्ब सुरु गर्नुपर्ने चिकित्सक सिंह बताउनुहुन्छ ।

परिवार स्क्रिनिङ तरिका भनेको एक परिवारको स्वाब लिई एक पीसीआर नमुना बनाएर परीक्षण गर्ने त्यसमा कुनै नमुना पोजिटिभ देखिए पुनः परिवारका प्रत्येक सदस्यको छुट्टा–छुट्टै स्क्रिनिङ गरी कुन सदस्यमा संक्रमण छ भन्ने पत्ता लगाउने गरिन्छ भने इलाका स्क्रिनिङ तरिकामा हरेक ५ सय मिटर क्षेत्रका सम्पूर्ण परिवारको स्वाब लिएर परीक्षण गर्ने पोजेटिभ देखिए परिवार स्क्रिनिङ गरी परिवार पत्ता लगाउने अनि व्यक्ति पत्ता लगाउने गरिन्छ यसो गर्दा कम समयमा धेरैको परीक्षण गर्न सकिने भएकाले सम्भावित ठूलो संक्रमणको खतरा टर्न सक्ने धारणा चिकित्सक सिंह राख्नुहुन्छ ।

यता वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले नयाँ संक्रमित बस्ने बस्तीका करिब ७ सय जनाको परिक्षण गर्ने तयारी गरिएको बताउनु भयो । काठमाडौंबाट ४ सय र नेपाली सेनाबाट ५ सय गरी ९ सय किट आएको बताउदै नगरप्रमुख शरावगीले आपतकालिन अवस्थाको लागि २ सय किट मौज्दात राखेर संक्रमित भेटिएको बस्तीका सात सय जनाको परिक्षण गर्ने तयारी गरिएको बताउनु भयो ।

हाल पर्सा जिल्लामा संक्रमितको सख्या २४ पुगेको छ जसमध्ये तीन जना कोरोना मुक्त भएर घर फकिएका थिए भने एक जनामा पुनः संक्रमण देखिएपछि फेरी अस्पताल भर्ना भई उपचाररत छन् । वीरगञ्ज स्थित नारायणी अस्पतालमा हाल बारा, रौतहट र पर्साका गरी २८ जना संक्रमितहरुको उपचार भईरहेको अस्पतालका चिकित्सक निरज कुमार सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया