बैतडी/हुम्ला, वैशाख २५ : देशभर मौसम बदली भई पानी परेका कारण पश्चिम नेपालमा हिउँ र असिनाले जनजीवन प्रभावित पारेको छ । बैतडीमा बिहीबार अपरान्ह हिउँ भन्दा बाक्लो असिना परेको छ । असिनाले गहुँबाली , तरकारी र फलफुलमा ठूलो क्षति पुगेको छ ।
दुई हप्तादेखि निरन्तर भईरहेको वर्षाले भित्र्याउन नपाएको गहुँबाली असिनाले खेतबारीमै चुटेको छ । किसानले लगाएको तरकारी र मौसमी फलफूल, आँप, आरुवखडा, नास्पातिमा समेत असिनाले ठूलो क्षति पुर्याएको छ । बैतडीका १० स्थानीय तह मध्ये पुरचौडी नगरपालिकाको १, ७ र ८ नम्बर वडामा ९० प्रतिशत गहुँबाली नस्ट गरेको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ ।
त्यसैगरि, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, पाटन नगरपालिका, दशरथ चन्द नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिकामा पनि एक सातादेखिको असिना पानीले गहुँबालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।
असिनाले गहुँबाली नस्ट गरेपछि भोकमरीको चिन्ता बढेको किसानले बताएका छन् । बैतडीमा ३२ हजार मेट्रिक टन गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क छ । यो वर्ष किसानले गहुँबाली भित्र्याउन नपाउँदै भारी असिना र वर्षाले ठूलो क्षति पुगेको कृषि ज्ञानकेन्द्र बैतडीले जानकारी दिएको छ ।
असिना पानीले कुन पालिकामा कति क्षति पुगेको छ भन्ने कुराको पालिका अनुसारको तथ्याङ्क सङकलन गरेर किसानलाई राहत तथा क्षतिपूर्तिका लागि कृषि ज्ञानकेन्द्रले पहल थाल्ने कृषि ज्ञानकेन्द्र बैतडीले जानकारी दिएको छ ।
हिउँ छिचोल्दै वडाध्यक्ष पुग्नुभयो सदरमुकाम
त्यसैगरी, हुम्लामा पाँच हजार मिटर अग्लो न्यालु लेकको चार फिट अग्लो हिउँ परेको छ ।
वडा अध्यक्ष समस्या लिएर सदरमुकाम सिमकोटमा डेलिगेशन आई पुग्नु भएको छ । गाउँमा धेरै कुराका समस्या एक साथ देखिएपछि उहाँले बाटोको हिउँ पन्छाउन अन्य तीन जना साथी लिएर ज्यानको बाजी थाप्दै सिमकोट आई पुग्नु भएको हो ।
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीका गाउँ लिमीका अध्यक्ष पाल्जोर तामाङले गाउँमा एक साथ धेरै समस्या देखिएपछि सदरमुकाम सिमकोट आई पुगेको बताउनुभयो ।
अहिलेको चिसौ मौसममा ज्यानको बाजी थापेर अध्यक्ष तामाङको टोली आई पुगेको हो । यो सिजन न्यालु लेकबाट कोही पनि हिडेर आउने समय होइन । तर उहाँ आपतका बेला गाउँको समस्या समधान होला भन्दै ज्यानको जोखिम उठाएर आई पुग्नु भएको छ । पहिलो कुरा खाद्यान्न गाउँमा सकिने अबस्थामा रहेको बताउदै अध्यक्ष तामाङले तत्काल सरकारले खाद्यान्न ब्यबस्था नगरे लिमीका तीन गाउँमा भोकमारी फैलने बताउनुभयो ।
तीनतिर चीनसँग सिमाना जोडिएको लिमीमा कोरोना कहरपछि चीनको ताक्लाकोटबाट खाद्यान्न आउने अवस्था छैन । यतिबेला चीनसँगका नाका बन्द रहेका छन् । उत्पादन निक्कै कम हुने लिमीमा गत कार्तिकमा चीनको ताक्लाकोटबाट ल्याएको खाद्यान्नले गुजारा चले पनि अब सरकारले खाद्यान्नको व्यवस्था नगरे ठूलो समस्या आउने उहाँले बताउनुभयो । लिमीका तीन गाउँमा १४७ घरधुरीको एक हजार जनसंख्या रहेको छ ।