दुई महिने शिशुसमेत एकै परिवारका १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

  बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए । बुधबार संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

बुधबार नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ । उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको इकान्तिपुरमा उल्लेख छ ।

१७ संक्रमित एकै परिवारका सदस्य
वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् ।

उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया