लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय

  बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : सरकारले जारी बन्दाबन्दी (लकडाउन) आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी भएको लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लकडाउन जेठ ५ गतेसम्म थपिएको आफ्नो फेसबुकपेज मार्फत सूचना सार्वजनिक गर्नुभएको छ । चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दी पटक पटक थपिदै भोलि बिहीबार सकिदै थियो ।

हिजो प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुक्र्त भएको निश्कर्ष निकालेको थियो ।

यस्तै सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यस्तै सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

यस्तै, सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ । ‘बुद्ध जयन्तीको अवसर पनि पर्‍यो, कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामना पनि गरौं भनेर दिप प्रज्ज्वलन गर्न आग्रह गरिएको हो,’ एक मन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया