विराटनगर, वैशाख २४ : कोरोना भाईरस परास्त गरेपछि विराटनगर कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको शै्याबाटै चिकित्सकलाई दिल्ली घुम्ने निम्ता दिइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राको मोवाइल नम्बरमा म्यासेज पठाउँदै संक्रमणलाई जितिसकेका भारतीय नागरिकले सबै चिकित्सक धन्यवादको पात्र रहेको भन्दै नयाँदिल्ली घुम्ने निम्ता दिएका हुन् ।
‘यति धेरै खुशी छौं, त्यसको वर्णन गरिरहन सकेको छैन,’ मेडिकल सुपरिटटेन्डेन्ट डा.मिश्राले भन्नुभयो, ‘यो टिमका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. दिपक सिग्देल र फिजिसियन डा.डेनप्रसाद आचार्यसहित अन्य साथीहरुको एकमुष्ट सफलता हो ।’ उहाँले एकजना विरामीले उपचारपछि चिकित्सकलाई धन्यवाद भन्नु निक्कै ठूलो सफलताको संकेत हुने बताउँदै भन्नुभयो–त्यसमा पनि भारतीय नागरिकले हामीलाई घुम्न दिल्ली आउन निम्ता समेत गर्नुले अझै खुशी भएका छौं ।
अस्पतालबाट डिस्चार्जपछि हँसिलो मुद्रामा ३० वर्षीय अनुस जैदीले नेपाल सरकारको साथले आफूहरु आराम भएको बताउनुभयो । उहाँले नेपाल आएका बखत उदयपुरको मस्जिदमा कोरोना संक्रमण देखिएको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) देखि, प्रहरी र चिकित्सकको भरले आफूहरुलाई धेरै सहज भएकोे बताउनुभयो । चिकित्सकको बारम्बार साथ थियो त्यसले डरलाई पनि परास्त गरिदियो, भारतीय नागरिक जैदीले भन्नुभयो–डराउने वस्तु अगाडि देख्दा डर लाग्नु स्वभाविक छ तर त्यसलाई हटाउने असल साथी पायौं ।
सामान्य रुघाखोकी (बुखार) लागे जस्तो मात्रै महसुश गर्दा अस्पताल भर्ना भएको र सामान्य अवस्थामै डिस्चार्ज भएको उहाँले अनुभूति सुनाउनुभयो । नेपाल र भारत दुवै देश बन्दाबन्दी रहेका कारण अहिले नेपालमै बस्ने र पूर्ण रुपमा सबै साथीहरु आराम भएपछि साउथ दिल्लीमा रहेको घर फर्कने उहाँले बताउनुभयो । दिनरात अस्पतालमा खटिरहनु भएका स्वास्थ्यकर्मीको एकमुष्ठ सफलताले ६ जनाको स्वास्थ्यमा सुधार आएको हो, डा.मिश्राले भन्नुभयो–डा.सिग्देल र डा.डेनले बाहिरको अनुभव अध्ययन गर्दै रातदिन उपचारमा खटिनु भएको छ ।
कोरोना संक्रमित ३१ जनाको उपचारमा संलग्न पहिलो समुहका २४ र दोस्रो समुहका २४ गरि ४८ जना चिकित्सक तथा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पठाईसकिएको छ । अस्पतालमा अहिले तेस्रो समुहका २४ जना चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यरत रहेको डा.मिश्राले जानकारी दिनुभयो । एक समुहमा रहेका ६ जनाले ६ घण्टा डिउटीमा खटिनु पर्नेछ, डा.मिश्राले भन्नुभयो–यसरी प्रत्येक दिन ६ घण्टा डिउटी खटिनेहरु सातदिनपछि पुनः क्वारेन्टाइनमा पठाईने छ ।
चिकित्सकहरुले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको दुरदर्शिपूर्ण निर्णयका कारण विरामीको चापलाई सहजै धान्न सक्ने हैसियत राखिएको भन्दै प्रशंसा समेत गरेका गरेका छन् । कोरोना संक्रमित उपचारका लागि विशेष र छुट्टै प्रकृतिको अस्पतालमा लगानी गरेर रातदिन नभनी सञ्चालनमा ल्याउन सक्नुले पनि स्वास्थ्यकर्मी तथा चिकित्सकलाई हौसला बढाएको डा.मिश्राले बताउनुभयो ।
डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मो.अजिज, २८ वर्षीय मो.जावेद, २१ वर्षीय मो. अहमद साहेव, ३४ वर्षीय मो. अजिरवान र २६ वर्षीय मो. राशिद रहनु भएको छ । अस्पतालबाट डिस्चार्जपछि उहाँहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे र राज्यमन्त्री जसमाया गजमेर, मन्त्रालयका सचिव रविलाल पन्त लगायतले बिदाई गर्नु भएको थियो ।






