काठमाडौँ, वैशाख २४ : ल कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार सरकारले आज (बुधबार) लकडाउन थप्ने निर्णय गर्दैछ । यसका लागि मन्त्रिपरिषद् बैठक बिहान ११ बजेदेखि बस्दैछ ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थपिने मन्त्रिपरिषद स्रोतले बतायो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।
संक्रमण फैलिएका, धेरै परीक्षण नभएका र संक्रमण नदेखिएका गरी तीन वर्गमा बाँडी त्यसैअनुसार लकडाउन खुकुलो बनाउँदै लैजाने सिफारिस कार्यदलले गरेको भएपनि सरकारले लकडाउनलाई अहिलेकै स्वरुपमा निरन्तरता दिने भएको हो ।
गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदीय समितिमा लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने निष्कर्ष निकालेको थियो । समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन यथारुपमा थपिने बताएका थिए ।
लकडाउनको समयअवधि यही वैशाख २५ गतेसम्म छ । २५ गते लकडाउन ४५ औं दिनमा पुग्दैछ । विज्ञहरुले पर्याप्त परीक्षण नभएको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने सुझाव दिएका छन् भने अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले भने आर्थिक क्षेत्र तहसनहस हुने भन्दै क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।
लकडाउन थप्दै लगे पनि परीक्षण सुस्त भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्दै कसैलाई पनि घर बाहिर ननिस्किन निर्देशन दिएको थियो ।
डेढ महिनाको अवधिमा कोरोना संक्रमित ८२ जना पुगिसकेका छन् । तर, काठमाडौं उपत्यकासहित धेरैजसो जिल्लामा लकडाउन खुकुलो देखिएको छ ।