पुलित्जर पुरस्कार घोषणा : न्यूयोर्क टाइम्सको अग्रता, तीन भारतीय पत्रकारले पनि पाए

  बैशाख २३, २०७७

न्यूयोर्क, वैशाख २३ : गत महीना कोरोनाभाइरस सङ्कटका कारण स्थगित गरिएको पुलित्जर पुरस्कार विजेताको घोषणा सोमबार गरिएको छ ।

पत्रकारिता, साहित्य एवं संगीत रचनाका क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई प्रदान गरिने यो अन्तर्राष्ट्रिय पुरस्कार ‘न्यूयोर्क टाइम्स’ ले विभिन्न तीन विधामा हात पारेको छ । त्यसैगरी ‘एंकरेज डेली न्यूज’, ‘प्रो पब्लिका’ पनि यस प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको छ ।

पुरस्कारको शुरुवात सन् १९१७ मा गरिएको होे । भ्रष्टाचार, कानून र नश्लवाद जस्ता मुद्दालाई उजागर गरेका यी तीन संस्थालाई यिनै मुद्दामाथि गरेको रिपोर्टका आधारमा पुरस्कृत गरिएको बताइएको छ ।

पुरस्कार बोर्डका प्रशासक डाना केनेडीले कोरोनाभाइरस प्रकोपका कारण भव्य समारोहमा जमघट नगरिकन यूट्युबमा लाइभ स्ट्रिमका माध्यमले विजेताको घोषणा गरिएको जानकारी गराउनुभएको थियो । उहाँले ‘न्यूयोर्क टाइम्स’लाई सबैभन्दा बढी तीन, ‘द न्यूयोर्कर’लाई दुई र ‘प्रो पब्लिका’लाई एउटा पुरस्कार प्राप्त भएको उक्त अवसरमा घोषणा गरिएको थियो ।

न्यूयोर्कका ब्रायन एम रोसेन्थलको न्यूयोर्क शहरका ट्याक्सी उद्योगमा खोजी रिपोर्टका लागि पुरस्कार दिइएको उहाँले बताउनुभयो । कसरी कमजोर चालकहरुको लाभ उठाएर कर्जाको बजार फस्टाइरहेको छ भन्ने रिपोर्टमा उल्लेख गरिएको थियो । त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनकालका कहानीको एक शृंखलावद्ध रिपोर्टिङका लागि पनि अन्तर्राष्ट्रिय पुरस्कार दिइएको छ ।

अलास्कामा यौनहिंसाको खोज र अनुसन्धानमूलक रिपोर्टका लागि ‘एङ्करेज डेली न्यूज’लाई र ‘प्रो पब्लिकालाई संयुक्तरुपमा सबैभन्दा प्रतिष्ठित मानिने पब्लिक सर्भिस अवार्ड प्राप्त भएको छ ।

यसबाहेक ‘द वाशिङ्गटन पोस्ट, असोसिएटेड प्रेस, द लोल एन्जिलिस टाइम्स, द बाल्टिमोर सन, द फिलिस्तिन हेराल्ड प्रेस’ लाई पनि अलग अलग समाचारका लागि पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको छ ।

रोयटर्सले हङकङको विरोध प्रदर्शनका तस्वीरका लागि ब्रेकिङ न्यूज फोटोग्राफी पुरस्कार पाएको छ भने कश्मीर घाटीको स्थिति फोटो मार्फत दर्शाएकाले एसोसिएटेड प्रेससँग आबद्ध भारतीय फोटो पत्रकारले पनि फिचर फोटोग्राफी क्षेत्रको अवार्ड प्राप्त गरेका छन् ।

त्यस्तै केन्टुकीको लेक्सिङ्कनस्थित कुरियर जर्नलले ब्रेकिङ् समाचार रिपोर्टका लागि पुरस्कार पाएको छ । जसले केनिटुकीका तत्कालिन गभर्नर मट बेभिनले गल्तीका लागि अन्तिम समयमा याचना गरेको माफीलाई सयौँ समाचार बनाएर बजारमा ल्याएको थियो ।

तीन भारतीय पत्रकार पुलिट्जर पुरस्कारबाट सम्मानित
भारतीय तीन पत्रकारले फिचर फोटोग्राफीमार्फत् गरेको योगदानका लागि सन् २०२० को पुलिट्जर पुरस्कार प्राप्त गरेका छन् ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) सँग सम्लग्न डार यासिन, मुख्तर खान र चन्नी आनन्दलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुलिट्जर पुरस्कार प्राप्त भएको हो ।

उहाँहरूलाई गत अगस्टमा केन्द्र सरकारद्वारा काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्वनपछि काश्मिर क्षेत्रको परिवेशलाई फोटोको माध्यमबाट गरेको विशिष्ठ योगदानका लागि पुरस्कृत गरिएको पुरस्कार छनोट समितिले सोमबार जानकारी गराएको हो ।

यासिन र खानले श्रीनगर र आनन्दले जम्मु क्षेत्रबाट एपीका लागि योगदान गर्नुहुन्छ । आफू पुरस्कृत भएको जानकारीपछि यासिनले ट्वीटरमा ल्ख्नुभएको छ, “सबै दाजुभाइ, साथी तथा सहकर्मीहरूलाई धन्यवाद । सधैँ हामीसँगै उभिएर काममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद । यो हामीहरूले कल्पना गरेकोभन्दा धेरै ठूलो सम्मान हो । प्रतिष्ठित पुरस्कारबाट सम्मानित क्षण विशेष खुशीको क्षण भएको छ ।”

“यासिन र खानजस्तै एपीका लागि काम गर्ने आनन्दले भन्नुभयो, “पुरस्कारद्वारा सम्मानित भएको खबरले मलाई हर्षविभोर बनाएको छ ।” आनन्दले भन्नुभयो, “पुरस्कार पाएको सूचना सुरूमा त विश्वासै गर्न कठिन लाग्यो । खबरले मेरो खुशीको सीमा नै रहेन । मैले फोटोपत्रकारीताका लागि २० वर्षदेखि गरेको परिश्रम सार्थक बनेको छ ।”

तपाईको प्रतिक्रिया