कोशी अस्पतालका ६ संक्रमितमा कोरोना दुईपटक नेगेटिभ, बुधबार डिस्चार्ज गरिँदै

  बैशाख २३, २०७७

विराटनगर, वैशाख २३ : कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जनामध्ये ६ जनामा दोस्रो र तेस्रो पटक पनि कोरोना संक्रमण नेगेटिभ देखिएको छ । उदयपुरको भुल्केबाट बैशाख ५ र ६ गते अस्पतालमा ल्याएर भर्ना गरिएका १३ जनामध्ये ६ जनामा कोरोना भाईरस नेगेटिभ देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार दोस्रो र तेस्रो पटकको परीक्षणमा समेत कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार विहान घर पठाईने भएको छ । कोरोना परास्त गर्नेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहनु भएको सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण(पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताउनुभयो । उनीहरु सबै भारतीय नागरिकहरु हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताउनभयो । उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिनुभयो । कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताउनुभयो ।

कोरोना भाईरस नेगेटिभ देखिएका ६ जनालाई रानीस्थित मस्जिदमा रहेको क्वारेन्टाइनमा सारिने कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना परास्त गरिसकेका उनीहरुको थप एउटा रगत परीक्षण समेत आज रातभरमा गरिने छ ।

सुरुका १३ जनाको यस अगाडि स्वाब संकलन गरि परीक्षण गरिएको छ । त्यसपछि पुनः दोस्रो पटक सोमबार स्वाब संकलन गरिएको थियो । दोस्रो स्वाबमा ६ जनामा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिने तयारी गरिएको छ । सोमबार नै अस्पतालमा भर्ना भएका थप १५ जनाको समेत स्वाब संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया