मध्य मस्र्याङ्दीको ५० मेगावाटसम्म उत्पादन बढ्यो

  बैशाख २२, २०७७

लमजुङ, वैशाख २१ : देशकै ठूलोमध्येको एक लमजुङस्थित ७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढेको छ ।

यसवर्ष चाँडै मनसुन भएर मस्र्याङदी नदीमा पानीको बहाव बढ्न थालेपछि विद्युत उत्पादन बढ्न थालेको हो । एक हप्तादेखि दैनिक औसतमा ४५ देखि ५० मेगावाट विद्युत उत्पादन भइरहेको मध्यमस्र्याङदी जलविद्युत केन्द्रले जनाएको छ ।

चैतसम्म विद्युत उत्पादन कम भइरहेकोमा बैशाख दोस्रो साताबाट विद्युत उत्पादन बढ्न थालेको केन्द्र प्रमुख शिवकुमार शाहले बताउनुभयो । ‘पानी चाँडै पर्न थाल्यो । हिउँ पग्लिन पनि थाल्यो । नदीमा पानी बढ्न थालेपछि विद्युत उत्पादन बढ्यो’ उहाँले भन्नुभयो, ‘अहिले विद्युत माग अनुसार उत्पादन गरिएको छ । ठूलो पानी परेको बेला जलाशयको पानीलाई गेटबाट फाल्ने समेत गरिएको छ ।’

उहाँका अनुसार चैत ११ गते सबैभन्दा कम औसत २४ मेगावाटसम्म विद्युत उत्पादन भएको थियो । त्यसपछि विद्युत उत्पादन विस्तारै बढ्दै गएको उहाँले बताउनुभयो । दुईवटा टर्वाइन रहेको मध्यमस्र्याङदीमा अहिले पनि रातिको केही समय कहिलेकाँही एउटा टर्वाइन बन्द गरी अर्कोबाट उत्पादन गर्ने गरिएको उहाँले बताउनुभयो । पानी बढी आउने र विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको माग अनुसार विद्युत उत्पादन बढ्दै जाने उहाँले बताउनुभयो ।

अहिले कोरोना संक्रमणका कारण देश लक डाउनमा रहकोले विजुलीको माग कम छ । लक डाउनले उद्योग, कार्यालय बन्द भएका कारण विद्युत खपत कम रहेको र चाहेर पनि पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको बताउनुभयो ।

मध्यमस्र्याङदी केन्द्रमा ३५÷३५ मेगावाटको २ वटा फ्रान्सिस टर्बाइन छ । जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत लगानीमा मध्यमस्र्याङदी जलविद्युत परियोजना निर्माण गरिएको हो । उक्त परियोजना २०६५ मंसिर २९ गते नेपाल र जर्मन सरकारको दौत्य सम्बन्धको स्वर्ण जयन्तीको अवसर पारेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया