१७ प्रतिशतमा फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेट

  बैशाख २२, २०७७

काठमाडाैं, वैशाख २१ : फिक्स्ड इन्टरनेटको पहुँच हेर्ने हो भने आम उपभोक्तामा निकै कम मात्र छ। प्राधिकरणको विवरणमा उल्लेख भएअनुसार २०७६ पुस महिनासम्म १६ प्रतिशत फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेटको पहुँच रहेको छ। अझ ताररहित फिक्स्ड ब्रोडव्यान्ड त जम्मा ०.७६ प्रतिशतको पहुँचमा छ ।

फिक्सड इन्टरनेटको विस्तार पनि धिमा गतिमा छ। गत एक वर्षको अवधिमा फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेट बिस्तार पाँच प्रतिशतले वृद्धि भएको छ। प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष पुस महिनामा फिक्स्ड ब्रोडव्यान्डको पहुँच ११ प्रतिशत रहेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ सय २२ वटा इन्टरनेट सेवा प्रदायकले सञ्चालनको अनुमति लिइसकेका छन्। फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेटमा एक ग्राहकबराबर ४ जना उपभोक्ता रहने मान्यता छ।

साथै, प्राधिकरणमा दर्ताका लागि निवेदन दिनेको संख्या झन्डै सय बराबर भइसकेको छ। मुलुकमा अर्बौं लगानी गर्ने राष्ट्रिय स्तरका इन्टरनेट सेवा प्रदायकदेखि स्थानीयस्तरमा ‘लोकल’ इन्टरनेट सेवा प्रदायक पनि रहेका छन्।

५५ प्रतिशतमा मोबाइल ब्रोडव्यान्ड

इन्टरनेट पुहँचको तथ्यांक हेर्ने हो भने मोबाइल इन्टरनेटको पहुँच आधा जनसंख्याभन्दा केही धेरैमा पुगेको देखिन्छ। प्राधिकरणको पछिल्लो विवरणअनुसार मुुलुकभर मोबाइल ब्रोडव्यान्ड ५५.३० प्रतिशतमा पुगेको छ।

प्राधिकरणले थ्रिजी र फोरजी इन्टरनेटलाई ब्रोडव्यान्ड इन्टरनेटका रुपमा मानेको छ। फिक्स्ड इन्टरनेटभन्दा मोबाइल इन्टरनेटको पहुँचको विस्तार धेरै छ। एक वर्षको अवधिमा यस्तो इन्टरनेट झन्डै ११ प्रतिशतले वृद्धि भएको छ।

गत वर्ष पुस महिनामा मोबाइल ब्रोडव्यान्डको ४४.३६ प्रतिशतमा रहेको थियो। मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले पछिल्लो पटक फोरजीको विस्तार गरेसँगै मोबाइल ब्रोडव्यान्डको पहुँच र खतप धेरै बढेको छ।

मुलुकभर झन्डै आधा जनसंख्याले थ्रिजी इन्टरनेट चलाइरहेको छ। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपाल टेलिकम र एनसेलका गरी १ करोड १६ लाख ५८ हजारले थ्रिजी इन्टरनेट चलाइरहेका छन्।

त्यस्तै नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका ४५ लाख २७ हजारले फोरजी चलाइरहेका छन्। नेपाल टेलिकमको थ्रिजी र फोरजी दुबैका ग्राहक ९२ लाख ६४ हजार रहेका छन्। त्यस्तै एनसेलका ग्राहक ६६ लाख ६४ हजार रहेको विवरण नेपालखबरमा उल्लेख छ।

तपाईको प्रतिक्रिया