राहुलको ‘क्राइम थ्रिलर’ चलचित्रमा तापसी पन्नु

  बैशाख २२, २०७७

मुम्बई, वैशाख २१ : बलिउड निर्देशक राहुल ढोलकिया एक ‘क्राइम थ्रिलर’ चलचित्र बनाउने तयारीमा थिए । यस चलचित्रको लागि राहुलले नायिका कृति सेनानलाई रोजेका थिए । कृतिकै कारण सन् २०१९को अगष्टमा छायांकन हुने यस चलचित्रले आफ्नो छायांकन मिति पनि पछाडि सारेको थियो ।

तर, कृतिले उक्त चलचित्रमा काम नगर्ने भएकी छिन् । आफ्नो अर्को चलचित्रको छायांकन मिति र यस चलचित्रको छायांकन मिति एकै भएको भन्दै कृतिले चलचित्रबाट हात झिकेकी हुन् । कृतिले चलचित्र छोडेपछि निर्देशक राहुल केही तनावमा थिए । चलचित्रमा अभिनेत्रीको भूमिका निकै बलियो भएका कारण सोही अनुरुप काम गर्ने अभिनेत्री खोज्न राहुललाई सकस थियो ।

अहिले राहुलले आफूले चाहेजस्तै नायिका पाएका छन् । उनी हुन्, तापसी पन्नु । चलचित्रको स्कृप्ट निकै राम्रो लागेकाले तापसी यस चलचित्रमा काम गर्न तयार भएकी हुन् ।

निर्देशक राहुलले अभिनेत्री सारा अलि खानलाई पनि अफर गरेका थिए । तर, साराले चलचित्रमा रुचि नदेखाएपछि तापसीलाई अनुबन्धित गरेका हुन् । कोरोनाको त्रास सकिएपछि चलचित्रको विषयमा थप जानकारी दिने निर्माण पक्षको तयारी छ । एजेन्सी

तपाईको प्रतिक्रिया