काठमाडौं, वैशाख २० : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।
त्यस्तै बैशाख २४ गते बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जनाकरी दिए । यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुट उन्मुख हुन नदिन पार्टीका सबै तहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।