सरकार पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री, सहयोगीलाई पुरस्कृत गर्ने आश्वासन

  बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी ओलीले सरकार पुनर्गठन गर्ने भएका छन् । दलभित्रको चरम राजनीतिक संकटमा फसेर पद नै गुमाउने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले कठिनतापूर्वक पद जोगाएलगत्तै सरकार पुनर्गठन गर्ने भएका हुन् ।

अन्तिम समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य मध्ये ओलीका पक्षमा वामदेव गौतम, विष्णु पौडेल, रामबहादुर थापा र इश्वर पौडेल उभिएपछि सचिवालयमा ओलीलाई बहुमत पुगेको हो ।

उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन लागि परेकाहरु हिस्स पर्ने भएका छन् । आन्तरिक राजनीतिमा उलटफेर पार्दै अल्पमतमा परेका ओलीले बहुमत जुटाएसँगै पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल एक ठाउँमा पुगेका छन् ।

अर्का सदस्य नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्री फेर्न नहुने पक्षमा आफ्नो साथ रहने बचन दिएको दाबी पनि ओली पक्षको छ । सचिवालयमा बहुमत जुटाएसँगै प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गर्ने भएका हुन् । अन्तिममा आफ्नो पद जोेगाउन साथ दिनेहरुलाई उनले पुरस्कृत गर्ने भएका हुन् ।

यसका लागि सबैभन्दा पहिले नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गरिने छ । राष्ट्रिय सभामा मनोनयनलगत्तै उनलाई उपप्रधानमन्त्री बनाइने बचन पनि ओलीले दिएको दाबी स्रोतले गरेको छ ।

सरकार पुनर्गठन हुँदा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठ पनि समेटिने भएका छन् । उनलाई सरकारमा उप्रधानमन्त्री र शिक्षा मन्त्रालयको जिम्मेवारी मिल्ने स्रोतको दाबी छ ।

सत्ताको यस खिंचडीमा हालका उप्रधानमन्त्री इश्वर पोखरेलले भने सरकारबाट हात धुनुपर्ने हुनसक्ने छ भने अरु केही मन्त्रीले पनि पद त्याग्नु पर्ने हुनसक्छ ।

केही नयाँ अनुहारको मन्त्रिपरिषदमा प्रवेश हुनेछ । यसका लागि प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर राष्ट्रपति विद्या भण्डारीसँग भेटघाट गरिसकेका इमेज खबरले जनाएको छ ।

तपाईको प्रतिक्रिया