बाँकेका संक्रमित मस्जिदमा सहायक, लकडाउनअघि भारत गएको आशंका, नेपालगञ्जका चार स्थान सिल

  बैशाख १९, २०७७

नेपालगञ्ज, वैशाख १९ : बाँकेका संक्रमित ६० वर्षिय पुरुष नेपालगन्जको महेन्द्रपार्क नजिकको जुलाहन पुरवास्थित अन्सारी मस्जिदमा सहायकको काम गर्दै आएको प्रहरी स्राेतले जनााएको छ ।
उनि सोे मस्जिदमा सहायकको काम गर्दथे भने उनको घर वडा प्रहरी कार्यालय र एमपी स्कूल बीचमको न्युरोडमा रहेको छ ।

उनी विदेश गएको कुनै जानकारी प्राप्त भएको छैन । तर, उनि लकडाउन शुरु हुनु अघि भारतको नानपारा लगायतका ठाउँमा गएको भन्ने बुझिएको छ । उनलाई खजुरास्थित आइसोलेशन अस्पतालमा लगेर राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले सामान्य उपचार शुरु गरिने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समयमा  नेपालगञ्जका धार्मिक स्थलहरुमा बसोबास गर्ने धर्मगुरु र तीनका सहायकहरुको कोरोना परिक्षण शुरु गरिएपछि सोही क्रममा यहाँ पहिलो संक्रमित भेटिएका हुन् ।

सोही मस्जिदका ईमामको परीक्षण गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको छ । यसैगरि अर्का शंकास्पदको पुनः परीक्षण भइरहेको जनाईएको छ । धम्बोझी क्षेत्रका उनको पहिलो रिपोर्ट शंकास्पद आएपछि शुक्रवार विहान उनको रगत संकलन गरेर फेरि परीक्षण भइरहेको छ ।
संक्रमण पुष्टि भएका ६० वर्षिय पुरुषमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । पुनः परीक्षण भइरहेका अर्का पुरुषमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन ।

तीनदिन अघिमात्र धार्मिक स्थलहरुमा बस्ने धर्मगुरुहरुको कोरोना परीक्षण शुरु गरिएको थियो । सो क्रममा पहिलो दिन फुलटेक्रास्थित फैजाने मदिनामा गरिएका सबै १० जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो भने दोस्रो दिन एकलैनी, धम्बोझी, जुलाहनपुरवा र सुनारमण्डीका मस्जिदमा गरिएको ११ जनाको परीक्षणमा ९ जनाको नेगेटिभ र १ जनामा संक्रमण पुष्टि भएको हो भने अर्का एकजनाको रिपोर्ट शंकास्पद आएको थियो ।

सोही प्रकारले तेस्रो दिन विहिबार बागेश्वरी मन्दिरका महन्त र पुजारीहरुको पनि स्वाब संकलन गरिएकोमा अहिले परीक्षण भइरहेको र बेलुकासम्म रिपोर्ट आउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित भेटिएको क्षेत्रलाई पूर्ण रुपमा सिल गरेर सो क्षेत्रका सबैको कोरोना परीक्षण गर्नु पर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । उनिहरुले संक्रमित व्यक्ति घरघरमा गएर बालबालिकालाई ट्यूसन पढाउने काम गर्ने गरेकोले उनि जाने घरहरु लगायत मस्जिद क्षेत्र र उनको घर रहेको टोलमा समेत सबैको परिक्षण गर्नु अवश्यम्भावी देखिएको छ ।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारवहादुर खड्काले नेपालगञ्जमा रहेका मस्जिदहरु सिल गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सङ्क्रमित ब्यक्तिको सम्पर्कमा आउन सक्ने ब्यक्तिहरुको खोजीका लागि जुटेका छौं, प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो,– नगर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपालगञ्जमा शुक्रबारदेखि विहान १० बजेपछि नै औषधी पसल बाहेकका सम्पूर्ण पसल बन्द गरिएका छन् । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले विरामीको अवस्थामा सामान्य रहेको बताउनुभयो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु सङ्क्रमितसँग सम्पर्कमा आएको ब्यक्तिको पहिचानका लागि कन्ट्याकट ट्रेसिङमा जुटेका छन् ।

सङ्क्रमितलाई खजुरास्थित नेपाल क्यान्सर अस्पतालमा रहेको आईसुलेशनमा भर्ना गर्ने तयारी गरिएको छ । प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई आईसुलेसन अस्पताल बनाएको हो । भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईले खजुरास्थित आईसुलेसन अस्पतालमा सामान्य विरामीका लागि सामान्य वार्ड, जटिल खालका विरामीका लागि थप वार्ड र गम्भिर विरामीका लागि भेन्टिलेटरसहितको आईसियु वार्ड निर्माण गरिएको जानकारी दिनुभयो । तीन सइयाको आईसियुमा दुईवटा भेन्टिलेटरसहितका छन् ।

तपाईको प्रतिक्रिया