रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण

  बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन कोभिड–१९ बाट संक्रमित हुनुभएको छ । संक्रमणको पुष्टि भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको बीबीसीले जनाएको छ ।

रुसमा करिब सात हजार ९९ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएकै दिनमा उहाँसमेत संक्रमित हुनुभएको हो । रुसमा कोभिड–१९ संक्रमितको संख्या एक लाख नाघेको छ ।

मिखाइललाई गत् जनवरीमा प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । रुसमा कोरोनाभाइरसको संक्रमण प्रकोपको रुप लिदा मिखाइल सक्रिय भएर भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

रुसी सञ्चारमाध्यमले प्रधानमन्त्री मिखाइलले कोरोनाभाइरस संक्रमणबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइरहेको भिडियो सार्वजनिक गरेको छ । उहाँको अनुपस्थितिमा पहिलो उपप्रधानमन्त्री आन्द्रै बेलोसोभलाई कार्यवाहक जिम्मेवारी सुम्पिएको छ ।

रुसमा कोभिड–१९ बाट संक्रमित हुने मिखाइल पहिलो वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ । कोरोनभाइरसको संक्रमणले रुसमा करिब एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया