चिनियाँ राजदूत यान्छीद्वारा नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेट

  बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकामा चीन सरकार र चिनियाँ जनताको उच्च प्रशंसा गर्नुभयो ।

अध्यक्ष दाहालले राजदूतमार्फत चीन सरकारले नेपाललाई उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिनुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

सो अवसरमा चिनियाँ राजदूतले कोरोना भाइरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष दाहाललाई गराउनुभएको थियो ।

यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि आजै चिनियाँ राजदूतले शिष्टाचार भेट गर्नुभएको छ । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उहाँहरुबीच नेपाल र चीन सम्बन्धमा विविध आयामका बारेमा छलफल भएको थियो । नेता नेपाल नेकपाको विदेश विभाग प्रमुखसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया