१२ हजार ११ व्यक्तिमा पिसिआर परीक्षण

  बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : सरकारले हालसम्म १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आजसम्म उक्त सङ्ख्यामा पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

सरकारले -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ४६ हजार ८६० नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ६८२ परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । हालसम्म विराटनगरमा ३१, विरगञ्जमा आठ, धनगढीमा एक र भरतपुरमा एक गरी ४१ जना कोरोना सङ्क्रमित व्यक्ति उपचाररत हुनुहुन्छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २३ हजार ३३६ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ८० जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर ७७ जना रहेका छन् । रेड जोनमा हालसम्म ३१२ जना रहेका छन् ।

त्यसैगरी दक्षिण कोरिया र चीनबाट ग्लब्स, थर्मामिटर, माक्स, पिपिइलगायतका स्वास्थ्य सामग्री आइपुगेको मन्त्रालयका प्रवक्ता देवकोटोले जानकारी दिनुभयो । उक्त स्वास्थ्य सामग्री स्वास्थ्य विभागलाई प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा झलक गौतमले देशका विभिन्न जिल्लामा दादुराको प्रकोप बढिरहेको बताउनुभयो । उहाँले गत पुसदेखि हालसम्म १८५ दादुरा रोगका बिरामी देखिएका जानकारी दिनुभयो ।

उहाँका अनुसार झापा, सर्लाही, धादिङ, काठमाडौँ, ललितपुर, चितवन र गोरखामा दादुराका बिरामी देखिएका छन् । जसमा चार महिनादेखि ४० वर्ष उमेर समूहका व्यक्तिमा दादुरा देखिएको छ । स्वास्थ्य प्रशासक गौतमका अनुसार दादुरा रोग देखिएकामध्ये धादिङमा दुई जना बालबालिकाको मृत्युसमेत भएको छ ।

उहाँले यही वैशाख १७ देखि २३ गतेसम्म प्रकोप देखिएका क्षेत्रमा खोप सञ्चालन गरिसकेको जानकारी दिनुभयो । उहाँले तत्कालको लागि खोपजन्य सामग्रीको अभाव नभएको स्पष्ट पार्नुभयो । खोपजन्य सामग्री कम्तीमा तीन महिनासम्मलाई पुग्ने हँुदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमित रुपमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य प्रशासक गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया