स्वदेशमा पाइला टेक्दाको क्षण

  बैशाख १८, २०७७

दार्चुला, वैशाख १८ : चौँतिस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १२ सय नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको पिथौरागढ जिल्लामा मजदुरी गरेर घर फर्किदै गरेका दार्चुला सहित १० जिल्लाका १ हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो ।

नेपाल–भारत दुबै देशको सहमति पछि पिथौरागढ जिल्ला अधिकारीसँग समन्वय गरेर बैतडी र बझाङका ७ सय ५० जना महाकाली नगरपालिका–९ दत्तु नाका र दार्चुलाका १ सय ३८ जना सहित ८ जिल्लाका ३ सय ७६ मानिस दार्चुला सदरमुकास्थित खलंगा नाका भएर दार्चुला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले बताउनुभयो । उनिहरुलाई ज्वरो मापन लगायत प्रार्थमिक स्वास्थ्य परीक्षण गरेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ । सीमाबाट फर्किएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने उहाँले बताउनुभयो ।

ढिलै भए पनि स्वदेश फर्किन पाउँदा खुसी लागेको जौलविबिको क्वारेन्टाइनमा बसेका मार्मा गाउँपालिका–६ का दिलेन्द्र महताले बताउनुभयो । यसअघि धारचुलाका क्वारेन्टाइनमा खान, बस्न र स्वास्थ्य उपचारको राम्रो व्यवस्था नभएको भन्दै साढे दुई सय नेपाली महाकाली नदीमा ट्युब तथा तुईन तरेर, पौडी खेलेर, जघाँर तरेर अबैध रुपमा दार्चुला भित्रिसकेका छन् । महाकाली तरेर आएका अधिकासंलाई खलंगास्थित क्वारेन्टाइनमा राखिएको छ ।

आफ्ना नागरिक लैजान बैतडी र बझाङबाट मंगलबार नै जनप्रतिनिधिहरु दार्चुला आएका थिए । सम्पर्क नगरेका स्थानीय तहका नागरिकहरुलाई तत्कालका लागि दार्चुलामै क्वारेन्टाइनमा राखिने भएको छ । एक महिनाअघि भारतको धारचुलाबाट झण्डै तीन सय नेपालीलाई स्वदेश फर्काइएको थियो । भारतबाट फर्किएकालाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले मास्क वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया