झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना

  बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ । सहभागीहरुले आगामी जेष्ठ १८ सम्म फोटोहरु पठाइ सक्नुपर्नेछ ।

नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्ने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अघि बढाउने छ,’ बताउनुभयो । नेपाल पर्यटन बोर्डले चार वर्षदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया