बलिउड अभिनेता इरफान खानको निधन, यस्ताे छ जीवन–कथा

  बैशाख १७, २०७७

मुम्बई, वैशाख १७ : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।

गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

‘मेरो दिमाग अक्सर मलाई भन्छ कि, ‘मलाई यो विमार छ र म केही महिनामा, एक वा दुई बर्षपछि मर्नेछु ।’  म आफ्नो दिमागले भनेको कुरा पुरा खारेज गरेर त्यसतर्फ मोडिन सक्छ, जसमा मलाई जिन्दगीले जीउनका लागि बाटो खुला गरिदिएको छ । र, मलाई जिन्दगीले धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि, चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु । मैले देखेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ?’

‘तपाई सोच्न छाड्नुहोस्, योजना बनाउन छाड्नुहोस् । तब तपाईले जिन्दगीको अर्को रुप अनुभूत गर्न पाउनुहुनेछ । यही कारण मलाई लाग्छ कि मसँग अर्को कुनै शब्द छैन, सिवाय ‘धन्यवाद ।’ कुनै अर्को शब्द छैन । कुनै माग छैन । कुनै दोस्रो अनुरोध पनि छैन ।’

आफुलाई निकै घातक एवं दुर्लभ क्यान्सर भएको थाहा भएपछि भारतिय अभिनेता इरफान खानले लन्डनको एक अस्पतालबाट एसोसिएटेड प्रेससँग कुराकानी गर्दै यसै भनेका थिए । क्यान्सरको उपचारपछि उनी आफ्नो लयमा फर्कने सुरसार गरिरहँदा सर्वत्र खबर फैलियो, इरफानको निधन ।

व्यक्तिगत जीवन

इरफान खान बलिउडका उम्दा अभिनेता हुन् । उनले बलिउडमा जुन उचाई लिएका छन्, त्यो आफैमा लोभलाग्दो छ । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए । सन् १९६७ जनवरी ७ मा ।

इरफानका पिता साहबजादा यासीन अली खान उद्यमी थिए । आमा गृहणी । उनका दुई भाई छन्, सलमान खान र इमरान खान । रुखसाना बेगम नामकी एक बहिनी छिन् ।

उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य बिद्यालयमै आवद्ध थिइन् । उनीहरुको कोखबाट दुई छोरो जन्मिए, अयान खान र बबिल खान ।

कार्टुन बनाउथे

करियरको पूवाद्र्धमा इरफान खान कार्टुन बनाउथे । स्थानिय अखबार दैनिक भास्कर र स्वदेशमा उनले कार्टुन बनाए । दिल्लीको श्रीधरणी आर्ट ग्यालरीमा आफ्नो चित्र प्रदर्शन गर्ने क्रममा उनी नवभारत टाइम्समा जोडिए । त्यसपछि उनी अरु थुप्रै मूलधारका पत्रिकामा कार्टुन बनाउन थाले ।

बरिष्ठ कार्टुनिस्टको चिनारी बनाइरहेकै बेला उनले आफ्नो टक शो होस्ट गरे, एनडिटिभीमा । यो सन् २००३ को कुरा हो । पछि एशियाई कार्टुन प्रदर्शनीमा पनि उनी भारतको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा कार्टुन देखाउन पुगेका थिए ।

त्यसबेला उनी करियरको सुरुवाती चरणमा थिए । उनी सडकमा थिए । दुखपूर्ण जीवन थियो । ठिक त्यही बेला उनको जीवनमा एक युवती आइन्, सुतपा ।

तर, त्यसभन्दा अगाडि उनले अर्को दुखको सामना गर्नुप¥यो । बुबाको मृत्यु भयो । घरको आयस्रोत सबै बन्द भयो । इरफानलाई घरबाट पैसा आउने बाटो बन्द भयो । यस्तै दुखदायी क्षणमा उनले अभिनय सिके । र, त्यसकै लागि निरन्तर डटिरहे । अन्तत टेलिशृंखला हुँदै उनी फिल्मी दुनियाँमा छिरे ।

पहिलो फिल्म

इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरे । सन् १९६७ मा । त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे । यसबीचमा इरफानले हसिल, लाइफ इन ए ..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वल्र्ड, लाइफ अफ पाई जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे ।

इरफान खानसँग जोडिएको विवाद

इरफानले बकरा ईदको विषयमा दिएको एक अभिव्यक्तीले विवादको रुप लिएको थियो । उनको अभिव्यक्तिलाई केही मुस्लिम संगठनले घोर विरोध जनाएका थिए । उनीहरुले भनेका थिए, ‘आफ्नो काममा ध्यान देउ, धार्मिक रीति रिवाजमाथि वयान दिनु आवश्यक छैन ।’

त्यसको जवाफमा इरफानले ट्वीट गर्दै भनेका थिए, ‘भगवान धन्यवाद, म धार्मिक ठेकेदारद्वारा सञ्चालित देशमा बसेको छैन ।’

इरफान खानसँग जोडिएको रोचक कुरा

क्रिकेटर बन्न चाहन्थे– इरफान खान त्यसताका अभिनेता बन्ने सोचमा पुगेकै थिएनन् । खासमा उनी क्रिकेटर बन्न चाहन्थे । तर, उनको भाग्यमा अर्कै लेखिएको रहेछ । उनी क्रिकेटर बनेनन्, अभिनेता बने ।

आफ्नो नाममा ‘आर’– इरफान खान अंग्रेजीमा आफ्नो नाममा दुई वटा आर राखे, आइआरआरएफएएन । अर्थात इरफान । कतिले भन्छन् कि, अंकज्योतिषको कारण इरफानले आफ्नो नाममा एक अर्को आर जोडेका हुन् । तर, इरफानलाई त्यसको साउन्ड राम्रो लागेकाले आर जोडिएको बताएका थिए ।

खान नामले हैरानी–इरफान खानले आफ्नो नामको पछाडि जोडिन आउने खानको कारण यदाकदा दुख झेलेका छन् । अमेरिकी विमानस्थलमा उनलाई कति पटक रोकेर सोधपुछ गरिएको थियो ।

ओस्कार विजेता फिल्ममा कामः–इरफानले ‘स्लमडग मिलियनेयर र लाइफ अफ पाई’ फिल्ममा काम गरे । यी दुबै फिल्मले केही विधामा ओस्कार अवार्ड जितेको थियो ।

इरफानको सम्पति– इरफानले एउटा फिल्ममा अभिनय गरे बापत भारु १२ देखि १४ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका थिए । उनको मुम्बईमा एक फ्ल्याट छ, जसमा उनी आफ्ना परिवारसँग बस्थे । त्यस फ्ल्याइटको मूल्य भारु करिब तीन करोड हो । इरफानसँग चारवटा गाडी थियो । उनीसँग करिब भारु ८० करोड बराबरको सम्पति भएको अनलाइनखबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया