उडायो सपना सबै हुरीले

  बैशाख १७, २०७७

रौतहट, वैशाख १७ : चन्द्रपुर नगरपालिका वडानम्बर नौस्थित सिन्दुरेघारीका कृषक भुलनाथ गौतमलाई जेठमा मकै बेचेर बैंकको ऋृण तिर्ने सपना थियो । तर, त्यो सपना सपनामै रह्यो । प्राकृतिक विपत्तीले बज्रपात गरिदियो ।

‘उडायो सपना सवै हुरीले भने झै’रौतहटमा एक साताअघि आएको असिनापानी र हावाहुरीले उहाँको फागुनमा लगाएको मकै सोत्तर भए । जेठको तेस्रो हप्तातिर मकै भाँच्ने र ब्यवहार टार्ने धोकोमा धोखा भयो । यसवर्षको मकै नास मात्र गरेन,ऋृण र ब्याजको भारी हटेन । त्यस्तै,चेतनगरका अर्का किसान लक्ष्मिप्रसाद चौलागाईको पीडा पनि कम छैन् । छोराछोरीको स्कुलको चार महिनादेखिको स्कुल फि तिर्ने एकमात्र सहारा खेतको मकै थियो । सहारा नै रहेन । सखाप हुँदा चिन्ता थपिदियो ।

रौतहटमा गतसाता विनाशकारी असिनापानीसहितको हावाहुरी आयो । दर्जनौं स्थानीय तहमा अन्न तथा नगदेबालीमा करोडौंको क्षति भयो । देश कोरोनाको महामारीका कारण लकडाउनमा छ । खेती गर्नेहरुको घर खर्च टार्न ऋृण र सापटी लिनुपरेको छ । गर्जाे टार्न मुस्किल छ । प्राक्रृतिक विपद्ले यहाँका किसान थप मारमा परे । पीडित गौतम मकैं बेचेर ऋृण तिर्ने सपना तुहिन पुगेको दुखेसो गर्नुहुन्छ ।

यहाँका वडानम्बर आठ र नौस्थित सिन्दुरेघारी, मर्धर, चेतनगर सन्तपुर,नजरपुर र अल्टोकिलगाएतका क्षेत्र प्रभावित छन् । पीडित कृषकलाई तीनै तहको सरकारले उचित राहत दिनुपर्ने स्थानीय सुर्यबहादुर थापाले बताउनुभयो । थापाका अनुसार,क्षती विवरण वडा कार्यालयमा बुझाईएको छ । राहतको खाँचो छ । निशुल्क बाली बिमाको सुविधा होस् । पीडित परिवारका बिद्यार्थीलाई छात्रवृतीको सुविधा होस ।

जिल्लामा यसबाट ठुलो परिमाणमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो । उहाँले स्थानीय तहले राहत उपलब्ध गराउने विश्वास ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया