भाटभटेनीलाई तीन लाख जरिवाना

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिवाना गरेको छ ।

विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि रु एक लाख जरिवाना गरेको छ ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

चार पसललाई कारवाही
बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख जरिवाना गरिएको छ । खरीद मूल्य प्रतिगोटा रु १२० रहेकामा भाटभटेनीले रु २२० लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको छ । भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो ।

त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई रु एक लाख र जिएन स्टोरलाई रु पचास हजार जरिवाना गरिएको छ । ती चार पसललाई आज कारवाही गर्दा छ लाख ५० हजार राजश्व संकलन भएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया