काठमाडौं, वैशाख १४ : वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोग्य सामानमा एमआरपीभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि सोमबार आर्थिक जरिवाना गरेको हो ।
‘१ सय २० रुपैयाँ पर्ने लाखमरीलाई २ सय २० रुपैयाँमा बिक्री गरिरहेको भन्ने उजुरी परेको थियो । अनुसन्धान गर्दा टंगालमा रहेको स्टोरले बढी मूल्य लिएको पाइयो,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘बढी मूल्य लिइएको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३ लाख जरिवाना गरेका छौं ।’
मिश्रका अनुसार ऐनको १६ ९२० ९क० बमोजिम काम गरेकाले ३८ (ङ)को कसुरमा ३९ ९१० (ख) बमोजिम ३ लाख जरिवाना गरिएको हो । सरकारले लकडाउनमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै अवरोध नगर्ने जनाएपछि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।
आपूर्ति प्रणाली बिग्रेपछि त्यसको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम कालोबजारी समेत गरेका छन् । यसको पुष्टी विभागको विवरणले पनि गर्छ । विभागले उजुरीको आधारमा अनुगमन गर्दा दिनहु जसो बढी मूल्य लिएको पाइएको छ । विभागमा उजुरी पनि सामानमा बढी मूल्य लिएको दर्ता भएको छ ।
‘उजुरीको आधारमा अनुगमन गर्दा केही पसलमा बढी मूल्य लिने गरेको पाइयो,’निर्देशक मिश्रले भने । विभागको टोलीले आइतबार कपनको एम बिटी खाद्य स्टोर्सलाई पनि १ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
उक्त स्टोरले मूल्य सूची नराखी बिक्री गरेको पाइएको थियो । ‘उक्त स्टोरलाई उपभोक्ता संरक्षण ऐनको २० ९१० बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको, ३८ (ट)को कसुरमा ३९ ९१० ९घ० बमोजिम १ लाख जरिवाना गर्यो,’ मिश्रले भने ।
यस्तै, विभागले साता अघि महाराजगन्जमा रहेको सेल्सबेरीलाई पनि २० हजार रुपैयाँ जरिवाना गरेको थियो । खरिद बिल प्रमाणित नभएपछि जरिवाना गरेको विभागले जनाएको छ ।
चाबहिलमा रहेको डीजी ग्रोसरीलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो। उक्त ग्रोसरीले ७३ रुपैयाँमा खरिद गरेको चिनी ८२ रुपैयाँमा बिक्री गरेको विभागले जनाएको छ । ‘७३ रुपैयाँमा खरिद गरेको चिनी ७८ रुपैयाँभन्दा बढीमा बिक्री गर्न पाइँदैन,’उनले भने, ‘एककिलोको ८२ रुपैयाँ लिएकाले कारबाही गरेका छौं ।’






