यात्रु ओसारपसारमा रोक, जथाभावी पास वितरण नगर्न प्रशासनलाई गृहको निर्देशन

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : ‘लकडाउन’लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

सह–प्रवक्ता अधिकारीले जुनसुकै हालतमा लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन आएको र सोहीअनुसारको व्यवस्था मिलाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको बताए । पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गरिँदै आएको थियो ।

यसैबीच गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पुन: निर्देशन दिएको छ । पासको दुरुपयोग गरेर मानिसको भीडभाड बढेको भन्दै गृहले त्यसलाई कडाइ गर्न निर्देशन दिएको छ ।

उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृहमन्त्रालयका सह–प्रवक्ता अधिकारीले बताए ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड–१९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया