विराटनगरबाट आएका यात्रुलाई माथिको आदेश भन्दै नागढु‌ंगामा फेरि रोकियो

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएका केही यात्रुलाई व्‍यक्तिगत विवरण टिपेर छाडे पनि केहीलाई भने फेरि रोेकेको छ ।

विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका १६० यात्रुमध्ये ४२ जनालाई अहिले नागढुं‌गा चेकपोस्टमै रोकिएको छ ।

नागढु‌ंगामा खटिएका प्रहरीले यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडे पनि महानगरीय प्रहरी वृत थानकोटका डीएसपी घनश्‍याम श्रेष्‍ठ आएर फेरि रोकेका हुन्।

उनले माथिको आदेश नआएसम्म काठमाडौं प्रवेश गर्न नदिने बताएका छन्। ‘अगाडि गएकालाई पनि हामीले थानकोटमा रोेकेर राखेका छाैं, माथिको आदेश नआएसम्म हामी कसैलाई पनि छाड्दैनौं,’ डीएसपी श्रेष्‍ठले भने। डीएसपी श्रेष्ठले थानकोटमा यात्रुलाई रोकेर राखेको बताए पनि धेरै यात्रु भने भित्री बाटो हुँदै गन्तव्‍यतर्फ गइसकेका छन्।

महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका थिए। तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको थियो। अहिले नागढु‌ंगा चेकपोस्टमा विराटनगर र अन्‍य ठाउँबाट आएका यात्रुहरुको संख्‍या थपिने क्रम जारी छ। यात्रुहरुले आफूहरु लकडाउनका कारण विराटनगरमा अलपत्र परेको र मेयर भीम पराजुलीले गाडीको व्‍यवस्था गरेर काठमाडौं पठाएको बताएका छन्।

तपाईको प्रतिक्रिया