लकडाउनले गर्दा नेपालगञ्ज भन्सारलाई २ अर्ब ७६ करोड घाटा

  बैशाख १४, २०७७

नेपालगञ्ज, वैशाख १४ : कोरोना भाइरस भित्रिन नदिन गरिएको लकडाउनले गर्दा पश्चिम नेपालको प्रमुख नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयलाई हालसम्म २ अर्ब ७६ करोड भन्दा बढी घाटा भएको छ ।

लकडाउनका कारण चैत ११ गतेदेखिनै सीमाना बन्द गरिएपछि अत्यावश्यक वस्तु बाहेकको आयात निर्यात नहुँदा भन्सार कार्यालयमा राजस्व संकलन नभएर सो घाटा भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६–०७७ को चैत मसान्तसम्म लकडाउनकै कारण लक्ष्यभन्दा २ अर्ब ७६ करोड ५८ लाख रुपियाँ कम राजश्व संकलन गरेकोले सो घाटा हुन गएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिनुभयो ।

भन्सार प्रमुख निरौलाका अनुसार सो अवधिमा ११ अर्ब ५३ करोड सात लाख ७९ हजार रुपियाँ राजश्ज संकलन गर्नुपर्नेमा आठ अर्ब ७६ करोड ४९ लाख ६७ हजार रुपियाँ मात्र राजश्व संकलन भएको छ ।

भन्सार कार्यालयको लक्ष्यभन्दा २ अर्ब ७६ करोड ५८ लाख १२ हजार रुपियाँ कम राजश्व संकलन भएको प्रमुख निरौलाले बताउनु भयो । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउनले अत्यावश्यक बस्तु बाहेक अन्य सामान नआउँदा नाम मात्रको अतिनै न्यून राजश्व संकलन भएको उहाँले बताउनु भयो ।

भन्सार कार्यालयका अनुसार बन्दाबन्दीमा पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुहरु सिमित परिमाणमा मात्र आयात भएका कारण राजश्व संकलन पनि घटेको छ ।
सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७५–०७६ मा १२ अर्ब ३३ करोड एक लाख १६ हजार रुपियाँ राजश्व संकलन गर्ने वार्षिक लक्ष्य केन्द्रले तोकेकोमा चालु आर्थिक वर्ष २०७६–०७७ मा लक्ष्यदरमा वृद्धि गरेर १५ अर्ब ४३ करोड ७५ लाख १४ हजार रुपियाँ निर्धारण गरिएको थियो ।

लकडाउन जारी रहेपनि नेपालगञ्ज नाकाबाट अत्यावश्यकीय खाद्यवस्तु चामल, मकै, दाल, आलु, गोलभेडालगायत तरकारी र औषधीको समेत आयात नियमित रुपमा भैरहेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज नाकाबाट भित्रिने खाद्यवस्तु, तरकारी र औषधी प्रदेश ५ का बाँके, बर्दिया र कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट र जुम्लासम्म जाने गरेको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

अत्यावश्यक वस्तुका गाडीलाई सीमा नाकामा शसस्त्र प्रहरीले सेनेटाइज गर्नुका साथै आवश्यक चेकजाँच गरेर मात्रै भित्रिन दिने गरेको शसस्त्र प्रहरीका डिएसपी नवराज बोहोराले बताउनु भयो ।
उहाँले अत्यावश्यक सामान भित्रिन दिएपनि अन्य सवारीसाधन तथा आवागमन पूर्ण रुपमा बन्द गरिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया