सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस

  बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । चैत २५ गते ६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोग गरेका ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।

जसअनुसार १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले आरोपित अग्रवालविरुद्धको अनुसन्धान सकिएको र ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको बताए ।

एसपी राठौरका अनुसार अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ (क), दफा ३ (१), दफा ५ र मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को एउटा दफा गरी ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । पदको दुरुपयोग गरी अपराध गरेको कसुरमा मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ को परिच्छेद २ को दफा १५ को उपदफा २ अनुसार पनि मुद्दा चलाउन माग गरिएको हो ।

मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसुर गर्ने व्यक्तिलाई कसुरमा हुने सजायको थप डेढी सजाय गरिने व्यवस्था छ ।

प्रहरी अनुसन्धानको थप अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने छ । अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत पनि हुन् । थर्मल गनको कालोबजारीमा अग्रवालले कूटनीतिक सुविधाबापत लिएको गाडीसमेत प्रयोग गरेका थिए । उनले चढेको गाडी अहिले प्रहरी नियन्त्रणमा छ ।

कालोबजारीविरुद्धको ऐनको दफा २ (क) मा सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र मोल निर्धारण नगरेकोमा राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल बस्तुको मोलभन्दा बढी लिएर सामान बिक्री गरेमा बरामद सामान जफत गरी आरोपितलाई एक वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिवानासमेत हुने इकान्तिपुरमा उल्लेख छ ।

त्यस्तै दफा ३ को उपदफा १ मा सयकडा २० भन्दा बढी मुनाफा लिएमा वा अभावको लाभ उठाइ नाफा लिई बिक्री गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ । सोही ऐनको दफा दफा ५ अनुसार कुनै मालबस्तुको मूल्य वृद्धि गराई अनुचित नाफा लिई बस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।

प्रहरीका अनुसार चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपैयाँसम्म लिएर उनले बिक्री गर्दै आएका थिए । प्रहरी आफैं ग्राहक बनेर अग्रवालसग थर्मल गन किन्न गएको थियो । त्यही क्रममा उनी नक्सालबाट पक्राउ परेका थिए । उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया