नारायणी अस्पतालमा रहेका चारजना कोरोना मुक्त, आइतबार डिस्चार्ज हुने

  बैशाख १३, २०७७

मकवानपुर, वैशाख १३ : कोरोना संक्रमण देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय र एकजना नेपाली युवाको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

उनका अनुसार वीरगञ्जमा कोरोनाको उपचाररत् पाँचजनाको स्वाब परीक्षण गरिएकोमध्ये चारजनाको रिपोर्ट नेगेटिभ आएको हो । ‘२४ घण्टाको फरकमा दुईपटक गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अब उहाँहरु कोरोना संक्रमणबाट मुक्त हुनुभयो । अब उहाँहरुलाई अस्पतालले डिस्चार्ज गर्छ,’ उनले भने । डा. सेढाईंका अनुसार २४ घण्टाको फरकमा दुईपटक स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै संक्रमण शरीरमा नरहेको पुष्टि हुने भएकाले डिस्चार्ज गर्न सकिन्छ ।

हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोनाको पीसीआर मेसिनद्वारा परीक्षण भइरहेको छ । शनिबार हेटौंडामा पाँचजनाको स्वाब परीक्षण गरिएको थियो ।

वीरगञ्जस्थित नारायणी अस्पतालका अनुसार अस्पतालमा उपचाररत् ३७, ४४ र ५५ वर्षीय भारतीय तथा १९ वर्षीय रौतहटका एक युवाको रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन उपाध्यायका अनुसार वैशाख १० गते कोरोनाको पुष्टि भएका १४ वर्षीय बालकको रिपोर्ट भने पाजेटिभ नै आएको छ ।

‘हेटौंडाको ल्याबमा गरिएका परीक्षणको अनुसार अब हामी आईतबार चारजनालाई डिस्चार्ज गर्नेछौं । उहाँहरु वैशाख १ गतेबाट अस्पताल भर्ना हुनुभएको हो,’ उपाध्यायले भने । उनका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘स्वास्थ्य अवस्था सामान्य छ । अरु कुनै पनि रोग तथा समस्या उहाँहरुको स्वास्थ्यमा देखिएको छैन । हामीले उच्च सतर्कताका साथ उहाँहरुको नियमितरुपमा स्वास्थ्य परीक्षण गरिरहेको छौं,’ उनले थपे ।

कोरोना नेगेटिभ देखिएको अस्पतालमा भर्ना भएका चारैजना भारतबाट नेपाल आएको बुझिएको छ । तीनजना भारतीयहरु वीरगञ्जस्थित एक मस्जिदमा बस्दै आएका थिए । उनीहरु मुस्लिम धर्म प्रचारकहरु हुन् । रौतहटका १९ वर्षीय युवक लकडाउन घोषणा भएसँगै भारतबाट फर्किएको अस्पतालले जनाएको छ ।

गत चैत २९ गते कोरोना संक्रमण परीक्षणका लागि उनीहरुको स्वाब हेटौंडा ल्याइएको थियो । हेटौंडामा स्वाब परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । चैत ३० गते काठमाडौंले पनि उनीहरुमा कोरोना संक्रमण रहेको थप पुष्टि गरेको थियो । उनीहरुमा कोरोना संक्रमण रहेको प्रमाणित भएसँगै उनीहरुलाई वीरगञ्जको छपकैयाास्थित मस्जिदबाट नारायणी अस्पतालको आइसोलेसनमा सारिएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया