पुनः परीक्षणका क्रममा नेगेटिभ देखिएपछि १ पुरुषलाई घर पठाइयो

  बैशाख १३, २०७७

चितवन, वैशाख १३ : कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनः नेगेटिभ देखिएपछि आज घर पठाइएको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको छ ।

-यापिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उहाँसहित उहाँका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा आमा र २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण देखिएको थियो । अर्का छोराको भने रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखेर फर्काइएको थियो ।

सङ्क्रमण देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा पुनःपरीक्षण गर्दा उहाँमा सङ्क्रमण नभेटिएपछि २४ घण्टापछि पुनःपरीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार दुवै परीक्षणमा सङ्क्रमण नदेखिएपछि आज घर पठाइएको हो । घर पठाइएपछि पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

आमाको उपचार भइरहेकाले उहाँ अस्पतालकै क्वारेन्टाइनमा बसेर आमाको रेखदेख गर्ने बताइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमितले आफ््नो मनोबल उच्च राखेका कारण छिटो निको भएको उहाँले बताउनुभयो ।

उहाँहरु गत चैत ३ गते बेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौँको दुई दिनको बसाइपछि ५ गते चितवन आएका थिए । उनीहरुलाई वैशाख ३ गते -यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद देखिएपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएर स्वाब परीक्षणका क्रममा वैशाख ५ गते सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

तपाईको प्रतिक्रिया