बन्दाबन्दीले रोकिएन वाग्मती सफाइ

  बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : बन्दाबन्दीका बीच पनि वाग्मती सफाइ महाअभियानको ३६३औँ हप्तामा नदी किनारका दुई स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र र शङ्खमूलमा गरी १० अभियानकर्मीले सफाइ गर्नुभएको हो ।

पशुपतिमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेल र शङ्खमूलमा अभियानकर्मी लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ अभियान जारी रहेको हो । घाट क्षेत्रमा सफाइ गरेर थुपारिएको फोहरसमेत उठाइएको छैन । बिहान थुप्रिएको फोहर दिउँसो उठाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । घाट क्षेत्रको सफाइमा विशेष ध्यान दिइएको कोषले जनाएको छ ।

यसैगरी शङ्खमूलमा तीन अभियानकर्मीले सफाइ गरेको छ । दुवैतिर करिब दुई घण्टा सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको सक्रियतामा शुरु भएको महाअभियान बन्दाबन्दीअघि प्रत्येक हप्ताको शनिबार बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म दुई घण्टा जस्तोसुकै कठिन परिस्थितिमा पनि जारी थियो । गत चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू भएपछि चैत १५ गते शनिबार ३५९औँ हप्ताको सफाइ अवरुद्ध भयो ।

३६०औँ हप्तादेखि भने वाग्मती किनारमा घर भएका केही अभियानकर्मीले नदीमै प्रवेश गरेर सफाइ गरी निरन्तरता दिनुभएको छ । वाग्मती नदीभन्दा टाढा घर हुने अभियानकर्मीले भने घर एवं टोलटोलमा सफाइ अभियानलाई निरन्तरता दिनुभएको जनाइएको छ । सबै अभियानकर्मीले सामाजिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अवलम्बन गरी काम गरिरहनुभएको छ ।

वाग्मती सफाइ महाअभियानबाट प्रेरित भएर हाल देशका १०६ स्थानमा सफाइ अभियान जारी रहेको जनाइएको छ । वाग्मती सफाइले विश्वमै लामो समय चलेको स्वयंसेवी अभियान भनी अन्तरराष्ट्रिय पुरस्कारसमेत पाइसकेको छ । कोरोना, डेङ्गुलगायत रोगको महामारीबाट बच्न पनि सफाइ अभियानलाई निरन्तरता दिइनुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया