भरतपुर अस्पतालबाट पनि एक कोरोना संक्रमित डिस्चार्ज

  बैशाख १३, २०७७

चितवन, वैशाख १३ : भरतपुर अस्पतालले निको भएका एकजना कोरोना संक्रमितलाई शनिबार डिस्चार्ज गरेको छ । उक्त अस्पतालमा उपचाररत अर्का संक्रमित व्यक्ति डिस्चार्ज भएकाकी आमा हुन् । अस्पतालले डिस्चार्ज गरे पनि आमा निको भएपछि सँगै जाने भन्दै युवक घर भने गएका छैनन् । २७ वर्षीय युवक र उनकी ६३ वर्षीया आमालाई वैशाख ५ गते कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो ।

निको भएका युवक मिडियाका अगाडि पनि आएनन् । ‘आमालाई निको भएपछि सँगै घर जान्छौं भन्नु भयो । मिडियामा बोल्नु परे आमा पनि डिस्चार्ज भएर जाँदाका दिनमा बोलौंला भन्नुभयो’, डा.तिवारीले भने । अहिले उनलाई आमाभन्दा अलग अस्पतालकै क्‍वारेन्टाइनमा राख्ने डा. श्रीराम तिवारीले बताए । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबार र शुक्रबार ती व्यक्तिको स्वाब परीक्षण भएको थियो। २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

कोरोना संक्रमण पुष्टि भएर उपचार सुरु भएपछि बिहीबार पहिलोपटक आमाछोराको स्वाब परीक्षण गरिएको थियो । आमाको नतिजा भने पोजिटिभ देखिएको छ । आमाको आइतबार फेरि परीक्षण हुने अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए । पोजिटिभ देखिएर उपचारमा बसेको हप्ता दिनपछि स्वाब परीक्षण गर्दा लगातार दुई पटक नेगेटिभ नतिजा आए डिस्चार्ज गरिने डा.तिवारीले बताए ।

चैत्र ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका यी आमाछोरामा वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो नै चितवनको कोरोना संक्रमणको पहिलो घटना हो । चैत्र ४ गते अर्का छोरा पनि हङकङबाट काठमाडौं आएका थिए । उनीहरु तीनैजना काठमाडौंमा भेट भएर चैत्र ५ गते सँगै घर आएका थिए । होम क्‍वारेन्टाइनमा बसेका उनीहरुको वैशाख ३ गते द्रुत परीक्षण (आरडीटी) भएको इकान्तिपुरमा उल्लेख छ ।

आरडीटीमा आमामा मात्रै पोजिटिभ अर्थात् एन्टिबडी पोजिटिभदेखिए पनि सँगै आएका दुईजना छोरालाई पनि स्वाब परीक्षण गर्न भरतपुर ल्याएर सरकारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । स्वाब परीक्षणमा बेलायतबाट सँगै आएका आमाछोरामा संक्रमण पुष्टि भए पनि हङकङबाट आएका अर्का छोरामा संक्रमण भेटिएन । उनी वैशाख ६ गते अस्पतालबाट फर्केर अहिले होम क्‍वारेन्टाइनमा नै छन् ।

‘उपचारमा राखे पनि उहाँहरुको अवस्था सामान्य थियो । सामान्य रुपमा सिटामोल र शरीर दुखेको बेलामा अलिअलि औषधि दिनुबाहेक धेरै औषधि पनि दिनु परेन’ भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले भने । आमाको उमेर बढी भए पनि अस्पतालमा १० दिन बिताउँदासमेत उनमा पनि रोगको कुनै लक्षणहरु नदेखिएको डा.अधिकारीले बताए ।

अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार भरतपुरमा अहिलेसम्म स्वाब परीक्षणका लागि ४७२ वटा नुमना संकलन गरेर आरटी पीसीआरमा परीक्षण गरिएको छ । जसमा यी आमाछोराबाहेकमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । कोरोना भाइरस परीक्षणका लागि भरतपुरमै प्रयोगशाला सञ्चालन भएको छ। यसै गरी लगभग ७ सय जनाको द्रूत परीक्षण (आरडीटी) पनि भएको छ ।

तपाईको प्रतिक्रिया