लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

  बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो ।

उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यो कार्दलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख छन् । शनिबार बिहानको समितिको बैठकले पनि जोमिखमुक्त नभएको भन्दै लकडाउन खुकुलो बनाउन नहुने निष्कर्ष निकालेको थियो ।

समितिले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा जारी प्रतिबन्ध जेठ २ गतेसम्म पुर्‍याउने निर्णय पनि गरिसकेको छ । वैशाख १५ गतेबाट सकिने लकडाउन बढाउने वा खुकुलो बनाउनेबारे अन्तिम निर्णय मन्त्रिपरिषद्‍ले गर्ने इकान्तिपुरमा उल्लेख छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पसमेत आएको थियो ।

त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको अनलाइन खबरमा उल्लेख छ ।

त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् ।

तपाईको प्रतिक्रिया