भर्चुअल कक्षा सिक्दै त्रिविका ५ सय प्राध्यापक

  बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : लकडाउन भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरु यतिखेर आफूलाई भर्चुअल प्रविधिमैत्री बनाउने प्रयासमा जुटेका छन् ।

‘बन्दाबन्दीले गर्दा हामीले विद्यार्थी, कक्षाकोठा, पाठ्यक्रम, पाठ्यपुस्तक गुमाइरहेका छौं,’ डिग्री क्याम्पस विराटनगरकी उपप्राध्यापक बन्दना जैनले सहकर्मीमाझ अनलाइनमा भनिन्, ‘कोरोना भाइरसको त्रास सबैलाई छ। तर यसरी कहिलेसम्म बस्ने? कम्तीमा सम्भव भएसम्म हाम्रा विद्यार्थीलाई अनलाइनमै भेटौं। पाठ्यक्रम र पाठ्यपुस्तकबारे छलफल गरौं।’

उपप्राध्यापक जैनले त्यत्ति भनिसक्दा डोटी बहुमुखी क्याम्पसका तिलक पाण्डेयदेखि इलाम महेन्द्र बहुमुखी क्याम्पसका देवराज घिमिरेसम्मले एकसाथ भर्चुअल हत्केला उठाएर ताली बजाए। त्यो अभिव्यक्तिले सबै प्राध्यापकहरूको साझा पीडा बोध बोलिरहेको प्रस्ट हुन्छ। प्रसंग त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूको साताव्यापी ‘अनलाइन शिक्षण तालिम’ कक्षाको हो। भर्चुअल कक्षामा दिने, लिने र जोडिने क्रममा उपप्राध्यापक जैनले बाँडेको अनुभूति हो। हरेक बिहानी डेढ–डेढ घण्टाको दुई सत्रमा चल्दै आएको नि:शुल्क तालिम बिहीबार पाँचौं दिन पूरा भएको छ। पाँचौं दिनसम्म पाँचसयभन्दा बढी शिक्षक प्रशिक्षित भएका छन्।

अनौपचारिक रूपमा सञ्चालन गरिएको तालिममा त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा शिक्षक स्वत:स्फुर्त सहभागी छन्। त्रिचन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक बामदेव अधिकारीले तालिमको संयोजन गरेका छन्। तालिममा गुगलमैत्री भर्चुअल शिक्षण विधिका निम्ति जुम एप्लिकेसन प्रयोग गरेर सिक्ने र सिकाउने गरिँदैछ।

अमेरिकामा प्राध्यापनरत डा. श्याम शर्माले अनलाइन तालिमको मियोको भूमिका निर्वाह गर्दै आएका छन्। शर्मा न्युयोर्कस्थित स्टोनी ब्रुक युनिभर्सिटीमा अंग्रेजी पढाउँछन्। चार वर्षदेखि अनलाइन शिक्षण विधि प्रशिक्षणमा संलग्न शर्माले सहभागी प्राध्यापकहरूलाई आश्वस्त पार्दै ठट्यौलो पारामा भने, ‘सबैले बुझ्नोस् यो ड्राइभिङ लाइसेन्सको तालिम हो। लाइसेन्स पाएपछि कारमात्र होइन ट्रक, बस नै चलाउन सकिन्छ। कोरोना भाइरसको महामारीले हाम्रो पेसा (शिक्षण)को जग गुमाएको बेला छ। त्यसैले विकल्प खोज्दै जुम मामा प्रयोग गरेका हौं। एक पटकमा ४० मिनेट समय सित्तैमा प्रयोग गर्न पाएका छौं। त्रिविले औपचारिक सिस्टम व्यवस्था गरेपछि असिमित समय चलाउन सक्छौं।’ भर्चुअल कक्षा भौतिक उपस्थितिसहितको कक्षाको विकल्प नभएको उनले प्रस्टाए।

त्यतिखेर तेह्रथुम बहुमुखी क्याम्पस आठराईका प्रमुख निलम खरेलले खुशी व्यक्त गरे। ‘बन्दाबन्दीको बेला अनलाइन शिक्षा दिने विकल्प ज्यादै उपयोगी छ,’ जिज्ञासा राख्दै उनले भने, ‘समस्या एउटै छ, सबै विद्यार्थीसित ल्यापटप छैन। मोबाइलसम्म चलाउँछन्। मोबाइलबाट पनि शिक्षण क्रियाकलाप सम्भव छ?’ उत्तिखेरै डोटी क्याम्पसबाट शान्ता हमालले सोधिन्– ‘हाम्रो त सबै ठाउँमा इन्टरनेट पहुँच छैन। के गर्ने होला?’

भर्चुअल कक्षा तालिमका संयोजक सह–प्राध्यापक अधिकारीले सहभागीको जिज्ञासा मेट्न तम्सिए। ‘नेपाल सरकारले विद्यालयलाई नै इन्टरनेट र प्रविधिमैत्री तुल्याउने नीति अघि सारेको बेला छ,’ उनले भने, ‘धैर्य गरौं। विश्वविद्यालयले पनि केही पहल गर्ला।’

उतिखेरै अनलाइन शिक्षण अभियन्ता सुरेन्द्र सुबेदी जवाफ दिन अघि सरे। ‘विद्यार्थीले मोबाइलबाटै भर्चुअल कक्षा लिन सक्छन्, तर त्यसमा चाहेजति सबै सिस्टम नहुनसक्छ,’ काठमाडौं मोडेल कलेजका प्रिन्सिपलसमेत रहेका सुवेदीले भने, ‘जहाँसम्म इन्टरनेट महँगो हुन्छ भन्ने छ। त्यसका लागि सेवा प्रदायक संस्थाले डाटा प्याकको व्यवस्था गरेका छन्। एक घण्टामा बीस रुपैयाँमात्र खर्च हुन्छ।’

तालिम संयोजक सह–प्राध्यापक अधिकारीका अनुसार त्रिविमा कार्यरत शिक्षकहरूको ‘टीयू टिचिङ एक्सिलेन्सी ग्रुप’ ले सन् २०१६ बाट भर्चुअल तालिमको अवधारणा अघि सारेको हो। यो तालिम काठमाडौंमा मात्र सीमित थियो। अहिले तालिम दिने र लिने दुवै उपत्यकाभित्र र बाहिरका महिला प्राध्यापकको सहभागिता धेरै छ। पुरुष प्राध्यापकहरूको सहभागिता उत्तिकै उत्साहजनक छ।

‘तालिमको विकास गर्ने क्रममा हामी तीस जना जति प्राध्यापकहरूले एउटा मोडेलको विकास गरेका छौं,’ संयोजक अधिकारीले भने, ‘हामीले कक्षाकोठामा गएर पढाउने अवसर गुमाउँदा हाम्रा विधा, विषय, पाठ्यक्रम र शिक्षण शैली उपयोगी हुने उपाय इन्टरनेट प्रविधि प्रयोग गरेर कसरी धेरथोर फिर्ता ल्याउन सकिन्छ भनेर खोजी गरेका छौं।’ ग्रुपमा सुरुदेखि संलग्न तथा प्रशिक्षित प्राध्यापकले यतिखेर आलोपालो तालिम दिँदैछन्।

भर्चुअल प्रविधिले विद्यार्थीसँग सम्पर्कलाई पुन:स्थापित गरेर लेक्चर दिने, छलफल गर्ने/गराउने र विद्यार्थीलाई सामूहिक काम गराउन प्रविधि प्रयोग गर्न प्राध्यापकलाई सिकाइएको अधिकारीले जनाए। जसका निम्ति जुम, फेसबुक वा गुगल ह्याङआउट प्रयोग गरिँदै आएको छ। विद्यार्थीलाई अध्ययन सामग्री, निर्देशन, सूचना दिने उपायको खोजी गरिएको छ। गुगल ड्राइभ, मेसेन्जर र इमेल प्रयोग गरिएको छ। त्यसैगरी विद्यार्थीको प्रतिक्रिया थाहा पाउने, जाँच लिने, गृहकार्य जम्मा गर्ने काममा गुगल सर्भे, गुगल डक र इमेल प्रयोग गरिँदै आएको छ। शिक्षण विधिमा स्लाइड प्रस्तुति, युट्युब प्रयोग, क्यालेन्डर निर्माण, सन्दर्भ स्रोत खुलाउने काम भइरहेको छ

यसरी दिइएको अनलाइन शिक्षण तालिममा त्रिविले कुने आर्थिक दायित्व बेहोर्नु परेको छैन। सबैजना स्वयंसेवक प्रशिक्षकका रूपमा खटिएका छन्। तालिमको अन्तिममा जुम एप्लिकेसनबाट एक दिने वेबनारसमेत आयोजना गरिने जनाइएको छ। वेबनारमा देशभरिका एकहजार शिक्षक सहभागी हुने संयोजक अधिकारीले बताए।

त्रिवि शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसालले विश्वविद्यालयले भर्चुअल कक्षा सञ्चालनका निम्ति आईटी विज्ञ समिति गठन भएको बताए। ‘त्रिविमा अहिलेसम्म अनलाइन कक्षा सञ्चालन गरेकालाई स्वीकार गर्ने र बाँकी विभाग, क्याम्पसहरू पनि व्यवस्थापन गर्ने नीति अघि बढेको छ,’ भर्चुअल कक्षा सञ्चालन नीति बन्ने क्रममा रहेको उल्लेख गर्दै शिक्षाध्यक्ष भुसालले कान्तिपुरसित भने, ‘अहिलेसम्म जुम एप्लिकेसनको फ्री भर्सनमात्र चलाइएको छ। अब लाइसेन्स लिने प्रक्रिया अघि बढाएका छौं।’

त्रिविले तत्कालका निम्ति सेमेस्टरमा सुचारु स्नातक तहका विषयहरू, स्नातकोत्तर तह, एमफिल र विद्यावारिधिका निम्ति भर्चुअल कक्षा सञ्चालन गर्ने शिक्षाध्यक्ष भुसालले जनाए। साथै, त्रिविले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थासँग दुर्गममा रहेका विद्यार्थीलाई सरल तथा सस्तोमा पहुँच विस्तारका निम्ति समन्वय गर्ने शिक्षाध्यक्ष भुसालले बताए। त्रिविको विभिन्न विभाग, अनुसन्धान केन्द्र र ६० आंगिक क्याम्पसका गरी करिब ८ हजार प्राध्यापन जनशक्ति रहेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया