खेतीपातीमा व्यस्त हुन थाले किसान

  बैशाख १३, २०७७

काभ्रे, वैशाख १३ : कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर बन्दाबन्दी भए पनि काभ्रेपलाञ्चोकका किसान भने खेतीपातीमा नै व्यस्त हुन थालेका छन ।

यतीखेर किसानहरु मकै गोड्ने, छर्ने, मल बोल्ने, आलु खन्ने, चैत धान रोप्ने, तरकारी रोप्ने लगायतका काममा व्यस्त हुँदै आएको पाइएको छ । पानी परेसँगे किसानलाई मकै छर्न हतारो छ भने कतै मकै गोड्न थालेका छन । महाभारत गाउँपालिका वडा न १ का बासिन्दा एवम् गोकुले माध्यमिक बिद्यालयका प्रधानध्यापक पद्म तिमल्सिनाले यतीखेर यहाँका किसान मकै गोड्नका व्यस्त रहेको बताउनुभयो ।

बन्दाबन्दीका कारण युवा युवती गाउँ आएपछि गाउँमा छुट्टै रौनक देखिएको उहाँको भनाई छ । अघिपछि एक दुई जना देखिने खेतबारीमा अहिले १०÷१५ जना देखिन थालेका छन, उहाँले खुशी साट्दै भन्नुभयो, साच्चै कृषि क्षेत्रमा यसले राम्रो परिणाम दिन सक्छ ।

पाँचखाल नगरपालिकाका किसान यतिखेर आलु खन्ने तथा तरकारी रोप्ने चटारोमा लागेका छन । उनीहरु दुरी कायम गरे काममा जुटेको पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै मण्डनदेउपुर, पनौती, बनेपा नगरपालिका लगायतका क्षेत्रका किसान यती खेर गोलभेँडा लगायत तरकारी लगाउनमा व्यस्त रहेका छन । धुलिखेल नगरपालिका, बेथानचोक, खानीखोला, महाभारत, चौँरीदेउराली, तेमाल, रोसी, भुम्लु गाउँपालिकाका किसानहरु खेतबारीमा मकै छर्न र गोड्नमा व्यस्त रहेका छन ।

तपाईको प्रतिक्रिया