७६ श्रीलंकाली लिएर फर्कियो श्रीलंकाको ध्वजावाहक विमान

  बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना आफ्ना नागरिक लिएर श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाज कोलम्बो फर्किएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, श्रीलंकनको एयरबस ३२० चार्टर जहाज शुक्रबार बिहान ११ः२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। यो १२ः३० बजे कोलोम्बो फर्केको छ।

यो विमानको काठमाडौंमा व्यवस्थापनको जिम्मा लिने जेनिथ ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक जोय देवानका अनुसार ७६ जना श्रीलंकाली विद्यार्थी, पर्यटक कोलम्बो फर्किएका छन्। ‘९० जनाको सूची थियो, तर आज चार्टर उडानमा ७६ जनामात्रै फर्किए,’ देवानले कान्तिपुरसँग भने।

काठमाडौंमा रहेको श्रीलंकन दूताबासको संयोजनमा यो चार्टर उडानलाई प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले बिहीबार अनुमति दिएको थियो। प्राधिकरणले लकडाउनको अवधिमा कुनै पनि विदेशी चार्टर वायुसेवा कम्पनीलाई ७२ घन्टाको अवधि तोकेर अनुमति दिने गरेको छ। कोलम्बोबाट यो विमान बिनायात्रु काठमाडौं आइपुगेको थियो।

लकडाउनयताकै यो ३३ औं अन्तर्राष्ट्रिय चार्टर उडान हो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यसअघि २३ वटा यात्रु र कार्गोतर्फ ९ वटा अन्तर्राष्ट्रिय उडान भएका इकान्तिपुर खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया