काठमाडौं, वैशाख १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।
नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने ल्याइएको थियो ।
तर, पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।